काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा (देउवा) जर्मनीको राजधानी बर्लिनबाट सिधै भारतको राजधानी नयाँ दिल्ली गएकी छन् । परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनी भ्रमण सकेर उनी आज दिल्ली प्रस्थान गरेकी हुन् ।
दिल्लीमा रहँदा उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको कोसिस गर्नेछिन् । परराष्ट्रमन्त्री राणाले जर्मनीमा रहँदा यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।
उनले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेको हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् । साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।