Mon. Jan 27th, 2025

पर्यटककोआकर्षण केन्द्र : ऐतिहासिक महत्व बोकेको धादिङको भैरवी मन्दिर

धादिङ-दुईतिर कहाली लाग्दो भिर । माछीकाँडे भौगोलिक बनोवटको पहाडको चुचुरोमा मन्दिर । मन्दिरको दुवै ठाउँबाट प्रवेश गर्ने सिँढीहरु । पहाडको चुचुरोमा रहेको यो धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका– ६ मा रहेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । गणेश हिमाल, मनास्लु, मानापाथीलगायत हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । देशै, तिहार तथा अन्य पर्व र विदाका दिनहरुमा घुम्न आउनेहरुको सकिने यो मन्दिरमा दर्शन गर्न र घुमफिरका लागि आउनेहरुको ठूलो भीड लाग्ने गर्दछ ।

‘राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर, स्पष्ट बुझिने गरी छैन’, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने । ‘भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेका थिए’ श्रेष्ठले भने,– ‘भाकलपछि नुवाकोट जिते । पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरि दिएका हुन् । पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा आउने गर्छ ।’

‘मन्दिरमा पूजासहित वडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ । वडादसैँको नवमीका दिन सु्ँगुरको बली दिँदै आएको छ,’ श्रेष्ठले भने,– ‘मन्दिर आइपुग्न सदरमुकामबाट करिव ८ किमि पिच र १० किमि कच्ची गरी करिव १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र नभई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’

पुजारी भगवान राना मगरका अनुसार भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको छ ।

ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकतामा दिएर संरक्षण तथा प्रवर्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । ‘भैरवी मन्दिरले नीलकण्ठ नगरपालिका मात्र होइन, जिल्लाकै उचाई थपेको छ । भैरवी मन्दिर धादिङ आइपुगेका र आउने चाहना राख्नेहरुका लागि रोजाईको राम्रो गन्तव्य बनेको हो ।’

‘भुकम्पले थलिएको मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेहरुलाई थप लोभ्याएको छ । चारैतिर देखिने हिमश्रखंला उत्तिकै आकर्षक छन्’ उनले भने– ‘संघीय, प्रदेश तथा स्थानीय सरकारको पहलमा पुनर्निर्माण गरिएको हो । प्रचारप्रसार र संरक्षण गर्न सकियो भने धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । भैरवी मन्दिर धार्मिक तथा ऐतिहासिक सम्पदा र धादिङको सम्पत्ति हो ।’
नेपाल लगायत छिमेकी राष्ट्र भारतदेखि पर्यटकहरु मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको नीलकण्ठ नगरपालिका– ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ बताउँछन् । ‘भैरवी मन्दिर एउटा आस्थाको धरोहर हो । सुखदुखमा दर्शन गर्ने थलो हो । दर्शन गर्दा मनोकामना पुरा हुने विश्वासले पनि यस मन्दिरमा ठूलो संख्यामा पर्यटकहरु आउने गरेका छन् । स्थानीय सरकारले यस मन्दिरको संरक्षण तथा प्रवर्धनको क्षेत्रमा काम गरिरहेको छ’ अध्यक्ष श्रेष्ठले भने ।

जिल्लाका विभिन्न संघ संस्थाहरुले भैरवी मन्दिरमा गर्ने गरेका पदयात्राले मन्दिरको थप प्रचारप्रसारमा टेवा पुगेको छ । केही दिन अघि मात्रै पनि स्वस्थ जीवन, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पदयात्रा भन्ने मूल मर्मका साथ नीलकण्ठ नगरपालिकाका ३, ४ र ६ वडाहरु, नेपाल हर्ट फाउण्डेसन धादिङ र रोटरी क्लव अफ धादिङको आयोजना तथा विभिन्न स्थानीय संघ सस्थाको सहकार्यमा ऐतिहासिक स्थलहरु पौवा घर र भैरवी मन्दिरसम्मको पदयात्रा गरिएको थियो । पदयात्राका क्रममा भैरवी मन्दिरमा भेटिएका नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचार प्रसारले एकता तथा ठाउँको पहिचानको सञ्देश दिएको बताए । ‘नगर भित्रका भैरवी मन्दिर, पौवा घर जस्ता थुप्रै ठाउँहरुको पर्यटन प्रवद्र्धनमा सहकार्य गरिरहेका छौं । भैरवी मन्दिरको संरक्षणमा हामी एकजुट छौं’ उनले भने ।

ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै प्रख्यात हुने भैरवी मन्दिरमा भेटिएका नीलकण्ठ नगरपालिका– ४ का वडा अध्यक्ष हरि श्रेष्ठले बताए । नीलकण्ठ नगरपालिकामा मात्रै पनि ऐतिहासिक महत्व बोकेको थुप्रै ठाउँहरु छन् । नीलकण्ठ ६ मा रहेको भैरवी मन्दिर, गुप्तेश्वरी गुफा, नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवा घर, नीलकण्ठ–११ मा रहेको ज्याम्रुङ दरबार लगायतका ठाउँहरुको प्रचार प्रसार तथा संरक्षण गरी जिल्लाको थप पहिचान स्थापित गर्नु पर्ने उनको भनाई छ ।

मन्दिरमा भेटिएका अर्का राजकुमार श्रेष्ठ धादिङमा आएका आफन्त तथा साथीभाईलाई भैरवी दर्शन गराउन ल्याउने गरेको बताउँछन् । ‘सदरमुकाम आसपास अन्य घुम्ने ठाउँ विरलै छन् । भैरवी चर्चामा पनि छ, सुन्दर पनि । आएका सबै खुषी पनि छन् । अझै प्रचार गर्न सकियो भने धादिङको शिर उचो नै राख्छ’ उनले भने ।

About The Author

अन्य समाचारहरु: