Mon. Jan 27th, 2025

पौवाघर-भैरवी मन्दिर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरियो पदयात्रा

धादिङ– सदरमुकाम धादिङबेशीदेखि नीलकण्ठ-४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिर पदयात्रा गरिएको छ । नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार पदयात्रा गरिएको हो ।

स्वस्थ जीवन, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पदयात्रा भन्ने मूल मर्मका साथ नीलकण्ठ नगरपालिकाका ३, ४ र ६ वडाहरु, नेपाल हर्ट फाउण्डेसन धादिङ र रोटरी क्लव अफ धादिङको आयोजना तथा विभिन्न स्थानीय संघ सस्थाको सहकार्यमा ऐतिहासिक स्थलहरु पौवा घर र भैरवी मन्दिरसम्मको पदयात्रा गरिएको हो । जिल्ला सदरमुकाम धादिङबेशीबाट सुरु भएको पदयात्रा अल्छिडाँडा, पौवा, रिजालथोक, सल्लाघारी, मैदान हुदै भैरवी मन्दिर पुगेको थियो । पदयात्रामा करिव तीन सय भन्दा बढीको सहभागिता रहेको थियो ।

पद यात्राले पौवा घर तथा भैरवी मन्दिरमा स–साना बालबालिकादेखि युवाहरुको भीड नै लागेको थियो । बाजागाजासहितको पदयात्राले हिड्ने बानी हटेकाहरुलाई समेत उत्साहित बनाएको सहभागीहरुको भनाई छ । ठाउँ ठाउँमा पुष्पगुच्छासहितको स्वागत उनीहरुको लागि सम्झनलायक क्षण बनेको बताउँछन् । पदयात्रामा रहेका सहभागीहरुलाई खाजा, खानाको व्यवस्था गरिएको थियो । व्यवस्थित पदयात्राले पदयात्राले पर्यटन प्रवद्र्धन तथा एकताको सञ्देश दिएको सहभागीहरुले बताएका छन् ।

ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेका भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकतामा लिएर संरक्षण तथा प्रवर्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । ‘भैरवी मन्दिरले नीलकण्ठ नगरपालिका मात्र होइन, जिल्लाकै उचाई थपेको छ । भैरवी मन्दिर धादिङ आइपुगेका र आउने चाहना राख्नेहरुका लागि रोजाईको राम्रो गन्तव्य बनेको छ ।’

‘भुकम्पले थलिएको मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेहरुलाई थप लोभ्याएको छ । चारैतिर देखिने हिमश्रखंला उत्तिकै आकर्षक छन्’ उनले भने– ‘संघीय, प्रदेश तथा स्थानीय सरकारको पहलमा पुनर्निर्माण गरिएको हो । प्रचारप्रसार र संरक्षण गर्न सकियो भने धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । भैरवी मन्दिर धार्मिक तथा ऐतिहासिक सम्पदा र धादिङको सम्पत्ति हो ।’

जिल्लाको सदरमुकाम धादिङबेशी भएपनि विभिन्न ठाउँमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुले जिल्लाको पहिचान दिएको नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘नगर भित्रका भैरवी मन्दिर, पौवा घर जस्ता थुप्रै ठाउँहरुको पर्यटन प्रवद्र्धनमा सहकार्र्य गरिरहेका छौं । यो पदयात्रा एकता र हाम्रा ठाउँको पहिचानको सञ्देश हो’ उनले भने ।

नगरपालिकालाई चिनाउने नेपाल लगायत छिमेकी राष्ट्र भारतदेखि पर्यटकहरु मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको नीलकण्ठ नगरपालिका– ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ बताउँछन् । ‘भैरवी मन्दिर एउटो आस्थाको धरोहर हो । सुखदुखमा दर्शन गर्ने थलो हो । दर्शन गर्दा मनोकामना पुरा हुने विश्वासले पनि यस मन्दिरमा आउने पर्यटकहरुको भीड लाग्ने गरेको छ । स्थानीय सरकारले यस मन्दिरको संरक्षण तथा प्रवर्धनको क्षेत्रमा काम गरिरहेको छ’ अध्यक्ष श्रेष्ठले भने ।

ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै प्रख्यात हुने नीलकण्ठ नगरपालिका– ४ का वडा अध्यक्ष हरि श्रेष्ठले बताए । नीलकण्ठ नगरपालिकामा मात्रै पनि ऐतिहासिक महत्व बोकेको थुप्रै ठाउँहरु छन् । नीलकण्ठ ६ मा रहेको भैरवी मन्दिर, गुप्तेश्वरी गुफा, नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवा घर, नीलकण्ठ–११ मा रहेको ज्याम्रुङ दरबार लगायतका ठाउँहरुको प्रचार प्रसार तथा संरक्षण गरी जिल्लाको थप पहिचान स्थापित गर्नु पर्ने उनको भनाई छ ।

पदयात्रा जस्ता गतिविधिले आम नागरिकमा सकरात्मक सञ्देश दिएको नेपाल हर्ट फाउण्डेसन धादिङ उपाध्यक्ष शान्तविक्रम बानियाले बताए । स्वस्थ रहन खानपिन र कसरतमा ध्यान दिनुपर्दछ । पदयात्रा जस्ता हाइकिङले मानिसहरुलाई रमाइलोसँगै ठाउँ चिन्ने घुम्ने तथा स्वस्थ रहन सहयोग पुगेको उनले बताए ।

त्यस्तै, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षाले पदयात्रा गरिएको सामाजिक कार्य गर्दै आएको संस्था रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाइलीले बताए । भैरवी मन्दिरको पुनर्निमार्णदेखि अहिलेसम्म संस्थाले जेजति सहयोग गर्न सकियो, भैरवी मन्दिर परिवारप्रति आभारी रहेको बताउदै आगामी दिनमा पनि सहकार्य रहने उनले बताए ।

About The Author

अन्य समाचारहरु: