काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पुराना मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको मध्यपुर ठिमीमा आयोपजत प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताए ।
प्रमुख सचेतक परियारले भने, ‘नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर बिदेसिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन ।’
उनले पुरानो दलले सिद्धान्ततः काम नगरेको भएर प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा नातावाद, कृपावाद र परिवारवादभन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको दाबी गरे ।