काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए ।
उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताउँदै प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउन नसक्ने बताए । उनले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताए । ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।
कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने लगानी, रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनका लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रस्ताव आएको बताए ।
घिसिङले भने,‘ प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरको प्रोजेक्टहरुको पीपीएमा केही स्थगन गरेको अवस्था हो । कोटा पूरा गरेर बसेका छौं । २८ हजार ५ सय मेगावटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्ने छ । हामी अगाडी बढाउँछौ । बजारलाई बन्द गरेर बसेर आयोजनाहरु आउँदैन भन्ने अवस्था हेर्नुपर्छ । प्राधिकरणले केही जोखिम लिएन भने आयोजनाहरु आउँदैनन् । १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजार नै आउँछ भन्ने छैन । धेरै आयोजनाहरुको टेक्नीकल समस्याहरु आउँछन् । ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए भने पनि त्यसले ठूलो सहयोग गर्छ । २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने ,रिर्जभवर आयोजनाहरु र सोलार पनि त्यसैभित्र राखेका छौ । प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको छ ।
विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिने गरेको थिएन तर अहिले प्राथमिकता दिनुपर्ने अवस्था छ । सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन । एक दुई वर्षभित्रै तर सोलारबाट हामीले ९६० मेगावटको एलओआई दिएका छौं । २०० मेगावटका सोलार अगाडि बढाएको अवस्था छ । १२ सय मेगावटको सोलार उत्पादन हुँदा सुख्खा समयमा विद्युत माग पूरा गर्न समस्या हुँदैन । भारतबाट दिउँसो मात्रै विद्युत आयात गर्न अनुमति छ । बेलुकाको पिकिङ समयमा आयात गर्न दिँदैन । राती र दिउँसो मात्रै विद्युत आयात गर्न सहमति भएको छ । जलविद्युतमा भारत,बंगलादेशसम्म खुला भएको अवस्थामा विद्युत प्राधिकरणले जोखिम लिएको छ । बजारको जोखिम लिएका छौं ।’
उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए ।