काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेसी आगामी चैत १८ गतेका लागि सरेको छ । सोमबार न्यायाधीश हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा हेर्न नभ्याइनेमा परेर स्थगित भएको मुद्दामा चार महिनापछिको पेसी तोकिएको हो । अघिल्लो पेसीको झन्डै ११ महिना पेसी चढेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको थियो ।
महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेपछि युवराज सफलले बदरको माग गर्दै २०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । यस मुद्दामा यसअघि सर्वोच्चले तीनपटक फाइल मगाउने निर्णय गरेको छ ।
०७९ चैत २२ मा न्यायाधीश फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । ०८० जेठ १ गते फुयालकै इजलासले फाइल मगाउन आदेश गरेपछि पेसी आठ महिना सरेको थियो । आठ महिनापछि हेर्न नभ्याइनेमा परेको मुद्दा फेरि झन्डै ११ महिनामा सोमबार पेसी चढेको थियो । तर, हेर्न नभ्याउनेमा परेपछि चैत १८ गतेको पेसी तोकिएको छ ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश माग गरे पनि न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।