Sat. Nov 30th, 2024

सामाजिक सूचकहरु राजनीतिक कोर्समा कहिले पर्छ ?

–रामकुमार एलन
मकवानपुरका ग्रामीण भेगहरु, जहाँ धादिङका पनि भूगोलहरु जोडिएका थिए, ती गाउँहरुमा आज विशाल सहकारीका भवनहरु बनेका छन् । गाउँमा करोडौँको रकमको कारोबार हुने गरेको छ । पुरुषहरु गाउँ छाडेर सीमावर्ती काठमाडौमा कमाउन जाँदा घरमा बसेका महिलाले दुई चार पैसा सहकारीमा जोडिएर बचत अभियान चलाए । गाउँमा हुने उत्पादनलाई बजारीकरण गरेर भएको आम्दानी सहकारीमा बचत गर्दा आज उत्तरी मकवानपुरले अथाह प्रगति गरेको छ । मकवानपुरको पश्चिमी भेगमा पनि पछि प्लान इन्टरनेशनल प्रवेश गरेर सहकारी अभियानमा महिलालाई जोड्दा पछिल्लो समय पश्चिम मकवानपुरको पनि प्रगति भएको छ ।

अब धादिङमा के भएको छ, तपाईंहरु जान्नुहुन्छ । उस्तै हो भूगोल, उस्तै हो समुदाय, उस्तै हो राजनीति । उस्तै हो खेतिपाती र आयअवस्था । आज मकवानपुरको हेटौँडा बागमती प्रदेशको राजधानी भइरहँदा धादिङको समाचार केमा केन्द्रित छ ? मकवानपुरमा गाँजा उत्पादन हुन्छ भन्दा धादिङमा किन कारोबार भइरहेको छ ? बेचबिखनमा धादिङ किन बढी जोडिएको छ ? धादिङ हुँदै गाँजा महोत्तरीतिर पुगेर समातिने क्रम बढेको छ । मकवानपुरमा गाँजा खेती भइरहँदा यसको कारोबार धादिङबाट हुनुमा राजनेताहरुले धादिङ बदल्न चाहेनन् कि जनतालाई यस्तै काममा लगाइरहे ? यो विषय पनि अब समीक्षा हुनुपर्छ होला । आफ्ना जनताको दैनिकी बदल्न राजनीतिक दलहरुले ल्याएको कार्यक्रम कति सफल भएका छन् ?

मकवानपुरको प्रसंग किन जोडियो भने, जतिखेर हामी पत्रकारितामा आएका थियौँ, त्यतिखेरको मकवानपुर र अहिलेको मकवानपुरमा बदलाव देखिएको छ । जस्तो, त्यतिखेरका केही समाचारहरु सम्झनामा छन् ः

१. सर्कसबाट ६ किशोरीको उद्धार । यो समाचारमा उद्धार हुनेमा एउटा धादिङको, एउटा नुवाकोट, एउटा काभ्रेको, एउटा सिन्धुपाल्चोकको हुन्थ्यो भने एउटा त मकवानपुरको पथ्र्यो नै ।

२. भारतको वेश्यालयमा बेचिइन् ६ छोरी । यो समाचारमा पनि त्यही हुन्थ्यो । एउटा धादिङको, एउटा नुवाकोट, एउटा काभ्रेको, एउटा सिन्धुपाल्चोकको हुन्थ्यो भने एउटा त मकवानपुरको पथ्र्यो नै ।

३. काठमाडौमा घर फोरेर चोर्ने ६ चोर पक्राउ । यो समाचारमा पनि धेरै पिरोलिन पर्थेन । पक्राउ पर्नेमा एउटा धादिङको, एउटा नुवाकोट, एउटा काभ्रेको, एउटा सिन्धुपाल्चोकको हुन्थ्यो भने एउटा त मकवानपुरको भइहाल्थ्यो ।

४. यस्तै, गाँजा बेचबिखनमा ४ पक्राउ । यसमा पनि एउटा धादिङको र एउटा मकवानपुरको पथ्र्यो नै ।

५. भारतमा पहिरोमा पुरिएर ५ को मृत्यु । यस्तो समाचारमा पनि धादिङ र मकवानपुरे नपरेको हुन्थेन ।

यसरी समाचारमा समान हिसाबले मकवानपुर र धादिङ पर्ने गरेका समाचारले हामी विरक्त हुन्थ्यौँ । समाज सुधार्ने जिम्मा पत्रकारको मात्रै होइन । अभिभावकको, दलहरुको पनि हो । त्यतिखेर त अझ सडक नाटक र सहकारी संस्था आउनुअघि आमा समूहको रजगज हुन्थ्यो । आमा समूहले जड्याँहालाई सामुहिक कारबाही गरेपछि पछि माओवादीको जनकारबाही र भाटे कारबाही आएको हो । तर मान्छेलाई कारबाहीले होइन, अवसरले बदल्दो रहेछ । जस्तो उत्तरी मकवानपुरमा हुने गाँजा खेतीलाई प्लान इन्टरनेशलनको आमा समूहको बचत र सहकारीले बदल्यो । तरकारी खेतीमा उन्नत प्रविधि भित्र्याउन अर्को एउटा एन्जिओ जेटिए बोकेर पुग्यो । विद्यालय भवनहरु बने । काठमाडौ बसेकाहरु स्वभाविकरुपमा अरु भन्दा टाठाबाठा हुने भएकाले उत्तरी मकवानपुरको विकास भयो । यसको तुलनामा धादिङ कति विकसित भयो ? यो धादिङको विषय भयो, एजेण्डा भयो । तर सधैँभरि गाँजाका भारी, होटलमा बासी भात र तरकारीले धादिङलाई छोडेन । राजनीतिक रुपमा भन्ने हो, प्रदेश आएपछि धादिङले दुई वटा मुख्यमन्त्री र कैयौँ मन्त्री पायो । मकवानपुरले एउटा मुख्यमन्त्री र प्रदेश राजधानी पायो । प्रदेश कार्यान्वयनअघि धादिङका मन्त्रीहरु बलशाली थिए, मकवानपुरका मन्त्रीहरु कम्युनिष्ट पार्टी भन्दा फरक थिए । यसैले पनि राज्यमा अवसरका हिसाबले मकवानपुरले भन्दा धादिङले मौका पाएको छ ।

आज काठमाडौमा मकवानपुरेको भन्दा धादिङेकै शान, शौकत, हैसियत छ । मकवानपुर ‘गाडीको शहर’बाट विस्तार ‘बुद्धिको बस्ती’मा परिणत हुँदैछ । पढाइलेखाइ, कर्मचारी संयन्त्रमा सहसचिवसममको यात्रा, वैदेशिक बसाइमा पनि अमेरिका, अष्ट्रेलियालगायतका विकसित देशमा गन्तव्य बल्ल बन्दैछ । काठमाडौमा धादिङेकै ठूला र धेरै कलेज छन् । हस्पिटल छन् । होटल छन् । मकवानपुरेहरु अझै पनि ‘मकवानपुरे भाउजुको नास्ता पसल’मै सीमित छन् । तर मकवानपुर पछिल्लो समय अपराधमुक्त हुँदै गइरहेको छ । अब माथि उल्लिखित जस्तो समाचारहरु आउँदा पटक्कै मकवानपुरको नाम आउँदैन भनिन्न । मकवानपुरको नाम आक्कलझुक्कल मात्रै आउने गरेको छ । अपराध निमिट्यान्न भएको छैन, न्यूनीकरण जरुर भएको छ । यो नै राजनीतिक परिवर्तनको एउटा गतिलो सूचक हो भन्ने लाग्दछ ।

यस्तै सूचकहरुले आर्थिक समृद्धिको पनि सीमा निर्धारण गरेको हुन्छ । आज ठूला होटल, हाउजिङ, क्रसर उद्योग, पेट्रोल पम्प, उद्योगहरुमा पनि जनताको ठूलो लगानी छ । यो लगानीमा मकवानपुर र धादिङ नागरिकता भएकाहरुको होल्ड बढ्दो छ । समग्रमा राजनीतिक र आर्थिक परिवर्तनले सामाजिक परिवर्तन देखिँदोरहेछ भन्ने प्रमाणित गर्दछ । आज पश्चिम मकवानपुरको राक्सिराङसम्म कालो पिच पुग्दा जनता अझै गाउँ विकास भएन भनेर विकासको थप भोकले शासकहरुलाई प्रहार गरिरहेका छन् । बाटो, बिजुली गएपछि विकास जसरी पनि बस्तीमा पुग्दोरहेछ । आज मकवानपुरका जुनसुकै भूगोलबाट काठमाडौ आउनजान सहज छ । राति ९ बजेसम्म काठमाडौ या चितवनको सौराहा या धादिङको महादेववेशी, मलेखु बसेर एक डेढ घण्टाको यातायात यात्रापछि घर गएर सुत्ने हैसियत बनेको छ । यसका लागि यातायात अर्थात् बाटो चाहिँदो रहेछ । हेटौँडा, मनहरी, पालुङ भन्दा पनि सुविधासम्पन्न बासस्थलहरु गाउँमा हुने गरेको छ । यसका लागि बिजुली चाहिँदो रहेछ । बजारमा भन्दा गाउँका आर्थिक कारोबार बढी हुने गरेको छ । यसका लागि गाउँमै उत्पादन, बिक्री र व्यवस्थापन चाहिँदो रहेछ । हेटौँडा, मनहरी र पालुङ भन्दा ग्रामीण भेगका जग्गा निकै महंगोमा किनबेच भइरहेको छ । यसको सूचक हो, जहाँ सम्भावना देखिन्छ, त्यहाँ मूल्य गौण बन्दोरहेछ ।

चर्चामा त मकवानपुरमा स्याउ पनि फल्न थालेको छ । गाँजा प्रहरीले भर्खैरै फाँडेको छ । केही भूगोलमा अफिम पनि फलेको छ । तर कालीमाटीको तरकारी बजारमा आज नेपालमै पालुङको तरकारी भनेर बजारीकरण भइरहँदा पालुङलाई प्रतिस्पर्धा गर्ने गरी मनहरी गाउँपालिकाका सात वडा वडाले प्रगति गरेका छन् । मनहरीको तरकारीले बजारीकरण पनि पाएको छ । बिहान ३ बजे काठमाडौमा मनहरीको तरकारी आउने संयन्त्र बनेको छ । यातायात, कलकारखाना, उद्योगमा मकवानपुरको मजदुरीको मात्रै होल्ड हो, मालिकको अवस्था कम हो । तर यी सबै समृद्धिका सूचकहरुले मान्छे विस्तारै अपराधकर्मबाट मुक्त हुन चाहँदोरहेछ भन्ने पक्का हो । मानिस अपराधजन्य कर्ममा त्यतिखर होमिँदोरहेछ, जतिखेर उसँग कुनै विकल्प हुँदैन ।

यसैले जनतालाई विकल्प दिने मामलामा दलहरु चुक्नु हुन्न । जब दलहरुले आफ्ना मतदाता र जनतालाई मासुभात र केही नोटका बिटामा सीमित राख्न खोज्छन्, त्यतिखेर नयाँ दलहरु उम्रन खोज्छन् । तिनले एउटा भ्रामरी ल्याउन सक्छन् । त्यसैले बेलाबखत शासकहरु झक्झकाउन यस्ता सूचकहरु पनि बाहिर ल्याउन जरुरी छ । दलहरुले गरेको बदमासी, अकर्मण्यताकै कारण जनतामा विकासको सूचक छिर्न सकेन भने महंगो जीवनशैली र जीवनस्तर व्यवस्थापनका लागि मान्छे फेरि छिटो त्यो रहर पूरा गर्ने अभिलाषाले अपराधमा जोडिन्छ । यो अपराधको जालाले उसको तीन पुस्ता पछि पर्छ । यसरी एउटा परिवारको प्रगतिको पांग्रो बन्द हुँदा अनेक अपराधका जन्जिरमा होमिएर परिवार नै पछाडि पर्छ भन्ने सामाजिक विषय हाम्रा राजनीतिक दलहरुको अबको कोर्स बन्नुपर्छ । कोर्स बनाउने काममा मिडियाले खबरदारी गर्नुपर्छ, नागरिक समाजले समयमा सचेत बनाउनु पर्छ अनि दलहरुले आफ्ना नेतृत्वमा यस्तो विषय समीक्षा गराउनु पर्छ । नत्र नयाँ भन्नेहरु उदाएर फेरि ‘जनता जहीँको तहीँ र उनीहरुको बचत खै’ भन्दै प्रहरीले अनुसन्धान त गर्ला, तर जनताको जीवनस्तर अरु तल र दलहरुसँग वितृष्णाको स्केल निकै माथि पुग्ने वातावरण बन्नु हुँदैन । हामी गफैका उद्योग चलाएर ओरालो यात्रामा छौँ । अरु कामका उद्योग चलाएर र मजदुरलाई समयमा ज्याला दिएर पनि आर्थिक समृद्धि हासिल गरिरहेकै छन् ।

About The Author

अन्य समाचारहरु: