Mon. Jan 27th, 2025

ठेकेदार र कर्मचारीको कुरा नमिल्दा आँखुखोलाको झेलुङ्गे पुल अलपत्र, पैसा रोकिदा मजदुर मर्कामा

धादिङ । धादिङको नेत्रावती डबजोङ–१ साप्टारी र गंगाजमुना–४ साल्दुङ जोड्ने आँखुखोलाको झोलुङ्गे पुल निर्माण कार्य अलपत्रमा परेको छ ।

पुल निर्माणको ठेक्का पाएको रुजन के निर्माण सेवा प्रा.लि. र भौतिक पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय धादिङको लापरबाहीका कारण निर्माण कार्य अलपत्रमा परेको हो ।

दुर्गम क्षेत्रका दुई वटा गाउँपालिका जोड्ने पुलको काम चार वर्ष अघि नै सकिसक्नुपर्ने भएपनि ठेकेदार कम्पनी र प्रादेशिक सडक डिभिजन कार्यालयको लापरबाहीका कारण स्थानीयले सास्ती त भोग्नु परेको छ नै पुल निर्माणमा काम गर्ने मजदुरले समेत ज्याला पाएका छैनन् ।

ठेकेदार कम्पनी रुजन के निर्माण सेवा कम्पनीले पुलको सम्पूर्ण सिभिल निर्माण अर्थात पुलको दायाँबायाँको जीप निर्माणको लागि स्थानीय आइतराम गुरुङलाई जिम्मा लगाएको थियो । दुई महिनामा सक्नेगरी कामको जिम्मेवारी लिएका गुरुङले तोकिएकै समयमा काम पनि पुरा गरे । तर, काम गरेवापत पाउनुपर्ने रकम नपाउँदा मजदुरलाई ज्याला दिन नपाएको गुरुङले बताए ।

‘ठेकेदार कम्पनीले छिट्टै काम सकिन्छ, पैसा पनि छिट्टै आउँछ भनेर काम लगायो, अहिले हामीले काम गरेको पनि एक वर्ष भयो । तर, पैसा दिएको छैन’, पेटी ठेकेदारको रुपमा पुलको जीप निर्माणको काम गरेका गुरुङ भन्छन– ‘ठेकेदारले पैसा नदिएपछि काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरलाई समेत पैसा दिन सकिएको छैन ।’

ठेक्काको नियम अनुसार समयमै काम नसके ठेकेदार कम्पनीलाई कि म्याद थप गरेर कामलाई निरन्तरता दिनुपर्छ, कि त्यो कम्पनीलाई कारबाही गरेर अर्कै कम्पनीलाई कामको जिम्मा दिनुपर्छ । तर, पुलको ठेक्का लगाएको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले कामको मुल्यांकन गरेर न ठेकेदार कम्पनीलाई रकम निकासा गराउन सकेको छ न त कारबाही गरेर अर्काे ठेक्का लगाउन सकेको छ । ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयका कर्मचारीहरुबीच कमिशनको खेल नमिल्दा काम रोकिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

About The Author

अन्य समाचारहरु: