Thu. Feb 27th, 2025

चितवनका केरा बिक्री नहुदाँ किसान समस्यामा

banana-farming-in-chitwan-nepal-1
चितवन – लगातारको बन्दहड्तालका कारण चितवनका केरा बिक्री नहुँदा किसान मर्कामा परेका छन् । भारतीय केरालाई स्कटिङ गरेर भित्र्याउने तर नेपालमा उत्पादित केरा बोकेका गाडीलाई स्कर्टिङ नगर्नाले आफूहरु मर्कामा परेको केरा किसानले बताएका छन् । ६ वर्ष अघि एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवनमा केराखेती प्रर्वद्धन गरिएपछि ६० करोड लगानी भैसकेको छ ।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आशमा लगानी गरेका चितवनका ६ सय भन्दा धेरै केरा किसान अहिले निराश बनेका छन् । चितवनमा उत्पादित केरा चितवनकै नारायणगढसहित पोखरा, बुटवल, काठमाडौं, गार्खा, बनेपा लगायतका प्रमुख शहरमा निर्यात हुने गरेको छ । जिल्लामा २०४७ सालदेखि केरा खेती सुरु भएको थियो । २०५१ सालदेखि व्यवसायिक केरा खेती सुुरु भएको चितवनमा पछिल्लो तथ्यांक अनुसार १४ सय हेक्टर जमिनमा केरा खेती भैरहेको छ ।

उद्योग बाणिज्य संघ चितवनको नेतृत्वमा जिल्लामा गएको चार वर्षदेखि एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको हो । व्यवसायिक रुपमा केरा खेतीलाई प्रर्वद्धन गर्ने उद्देश्यले चितवनमा एकगाउँ एक उत्पादन कार्यक्रम केरो खेतीमा लागु गरिएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष समेत रहेका एक गाउँ एक उत्पादन कार्यक्रमका संयोजक कल्याण जोशीले बताउनुभयो । चितवनमा रत्ननगर नगरपालिकासँगै जुटपानी, पदमपुर, चैनपुर, जगतपुर, ठिमुरा र मेघौली केराखेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

अघिल्ला वर्षमा यो सिजन केराबारी वरपर गाडीका लाइन लाग्थे, अहिले भने सुनसान छ । एकातिर भारतीय केराको चाप अर्कोतिर लगातारको बन्द, हड्तालका कारण चितवनको केरा बिक्री हुन छाडेका हुन् । विदेशबाट फर्किएर गाउँमै केरा खेती सुरु गरेका पदमपुर–७ का कृषक महेन्द्र ठकुरीले तयारी भएका केरा समेत बजारमा लगेर बिक्री गर्न नपाएकोले केरा बगान मै पाकेर कुहिन थालेको जानकारी दिनुभयो । पहिले प्रतिकोसा ३ रुपैयाँ ५० पैसामा बिक्री हुने केराको भाउ अहिले २५ पैसामा झरेको छ ।

चितवनमा हरेक वर्ष ३५ हजार देखि ४० हजार टन केरा उत्पादन हुने गरेको छ । पछिल्लो समय भारतीय केरालाई स्कर्टिङ गरेर काठमाडौं लगिने गरेको तर स्थानीयस्तरमा उत्पादित केरालाई सरकारले समेत प्राथमिकतामा नराखेकोले समस्या बढ्दै गएको किसानको गुनासो छ । चितवनबाट केरा लिएर दैनिक २५ देखि ३० वटा गाडी केरा बाहिर जाने गरेको यस सिजनमा मुस्कीलले ५ देखि ७ वटासम्म गाडी केरा लिएर बजार पुग्ने गरेको किसान बताउँछन् ।
बन्द हडतालको क्रममा दूध तरकारीलाई यातायातमा सहज भएझैं केरालाई पनि यातायातमा सहज हुनुपर्ने केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले बताउनुभयो । केरा किसानले पाउने मूल्य घटेपनि बजारमा भने केराको मूल्य खासै घटेको छैन् । अहिले पनि बजारमा उपभोक्ताले एक दर्जन केराको ८० रुपैयाँ भन्दा बढी मूल्य तिर्नुपर्छ ।

About The Author

अन्य समाचारहरु: