Wed. Nov 27th, 2024

प्रधानमन्त्रीको चेतावनी :कार्यसक्षमता नदेखिए मन्त्री बदल्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको क्षमता प्रभावकारी नदेखिए परिवर्तन हुनसक्ने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा बोल्ने क्रममा उनले मन्त्री परिवर्तन हुनसक्ने संकेत गर्दै प्रभावकारी रुपमा काम गर्न प्रष्ट निर्देशन दिएका छन् ।

कुनै पनि मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए समीक्षा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाही गर्नुपर्ने उनले बताए ।

‘प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ,’ प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुप¥यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ ।’

अब अल्याङटल्याङ गर्ने समय नभएको, मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए सोच्नुपर्ने बेला भएको र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्ने समय रहेको बताए ।

स्रोतको सुनिश्चितताविना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उनले बजेटको समीक्षा गर्न सकिने तर काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: