सरिता श्रेष्ठ, धादिङ – सदरमुकाम धादिङबेसी आसपासका विस्थापित बस्तिहरुमा बस्दै आएका भूकम्प पीडित बालबालिकाहरुलाई स्वास्थ्य समस्याले पिरोलेको छ । भूकम्पपछि गाँउमा पहिरो गएका कारण अस्थायी बसोबासका लागि जस्ताले बनाएको अस्थायी टहरामा गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या देख्न थालेको छ । गर्मीका कारण घमौरा आउने, झाडापखाला लाग्ने, आँउ लगायतका स्वास्थ्य समस्याले बालबालिकालाई क्रसित बनाएको पीडितहरु बताउँछन् ।
लापा गाउँ विकास समिति वडा नम्बर २ तिन्चेतका १२ बर्षिय बालक मान बहादुर तामाङलाई अस्थायी टहरामा बस्दा घमौरा आउने तथा ज्वरो आउने समस्याले १ हप्ता थला बनाइसक्यो । शरिरभरी घमौरा आएर विरामी परेको कारण उनी अस्थायी टहरामा थलिएका हुन् ।
शिविरमा खानेपानीको राम्रो व्यवस्था नभएको, जंगल र वारीको छेउमा रहेको र सरसफाइको अभाव, फोहोर पानी, लामखुट्टे र कीराको टोकाइले भूकम्पपीडित शिविरमा आश्रितलाई छाला रोगको संक्रमणले सताउन थालेको छ । रातको समयमा किराफट्याङग्राले सताउने गरेको लापा २ तेङचेतका टेकबहादुर तामाङले बताए । शिविरका स्थानियहरुमा अहिले गर्मी मौषममा देखिने रोगहरु, झाडापखाला, आउँ, घमौराले सताउन थालेको छ ।
दिउँसो अत्याधिक घाम लाग्ने र सुरक्षित बस्ने अन्त ठाउ कतै नभएकाले त्रिपालकै शिविरमै बस्नुपर्ने भएकाले बालबालिकाहरुमा छालामा घाउ हुने, बिविरा आउने, चिलाउने, दुख्ने, सुन्निने, फुट्ने, रातो हुनेलगायत समस्या देखिएको छ । विशेषगरी बालबालिका, गर्भवती, सुत्केरी र नवजात शिशु बढी मारमा परेका छन् ।
शिविरमा बसेका विस्थापितहरुलाइ रोगका संक्रमणबाट जोगाउन जिल्ला स्वास्थ्य कार्यलयले विभिन्न सहयोगी सस्थाको सहयोगमा खोप तथा शिविरहरु संचालन गरिरहेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
धन्सारपाखाका शिविर ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुरले भने, ‘चिसो स्थानमा बसीरहेका बालबालिकाहरु एक्कासी गर्मी स्थानमा आउँदा यस्तो समस्या देखिएको हो ।’
धन्सारपाखाको शिविरमा १२९ घरधुरीका २ सय ५२ जना बालबालिका रहेका छन भने अत्याधिक गर्मीका कारण अधिकांशमा घमौराको संक्रमण देखिएको छ । शिविरमा जन्मेदेखी २ बर्ष मुनिका २६ जना, ६ बर्षदेखी ११ बर्ष सम्मका ८१ जना र ११ देखी १५ बर्ष सम्मका ९५ जना बालकालिका रहेका छन् । जस्ता मुनिको बसाई र अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा घर्मौराको संक्रमण देखिएको हो ।
धादिङको उत्तरी क्षेत्र लापा तिप्लिङ सेर्तुङ र झार्लाङ गाउँ विकास समितिका अधिकाँश बस्तीहरुका स्थानियहरु पहिरोको त्रासले गाउँमा बस्न नसकेपछि सदरमुकाम आसपासका खुल्ला ठाउँहरुमा त्रिपालको अस्थायी शिविर खडा गरेर बसिरहेका छन । सदरमुकाम धादिङवेसीको अल्छीडाँडा, साङकोषको धन्सारपाखा, दामगााडे कुमालगाउँ लगायतका ठाउँमा त्रिपालमुनिमा बस्दै आएका भुकम्प पिडितहरुलाइ अहिले स्वास्थ्य समस्याले सताउन थालेको छ ।