काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् ।
मंगलबार गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको उद्योगी र पर्यटन व्यवसायीहरुसहित टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्ने बताएका हुन् ।
पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
सो क्रममा उनीहरुले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार पूरा भएर पनि उडान हुन नसक्नुको कारण खोजी गर्नुपर्ने माग गरेका थिए । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाले अब पोखराबाट पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनीहरुको माग छ ।
अघिल्लो वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि पनि गण्डकी प्रदेशका मन्त्री नेतृत्वको टोलीले सोही माग राखेको थियो । तर त्यो माग पूरा हुन सकेन ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पोखरा विमानस्थल सञ्चालनबारे आफू चिन्तित रहेको र यसबारे कूटनीतिक पहल गर्ने बताएका थिए । उनले आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एजेण्डा बनाउने आश्वासन दिएको गण्डकीका पर्यटनमन्त्री बस्यालले बताए ।