Mon. Jan 27th, 2025

नैतिकता सिकाउनेहरू नै अनैतिक

– धनराज वास्तविक
नेपालको राजनीतिमा मात्रै होइन, विश्वकै राजनीतिमा ‘कहीँ नभएको जात्रा हाँडिगाउँ’ मा भनेझैँ भइरहेको हुन्छ । उसो त राजनीति सबै नीतिहरूको पनि मुल नीति भएका कारण पनि यस विधामा तमाम दृश्यहरू देख्न पाइने सुविधा हुन्छ होला ।

खैर, राजनीति शक्ति प्राप्तिको संघर्ष हो । यस संघर्षको मैदानमा अनेकौं मानिसहरूको सहभागिता हुन्छ । विभिन्न स्वार्थ बोकेर पनि राजनीतिमा आउन सक्छन् । नेतृत्वलाई प्रभावमा पारेर आफ्नो स्वार्थ पुरा गर्नेहरू पनि राजनीतिमा आउन सक्छन् । विभिन्न फण्डा र स्टन्टबाजीहरू पनि राजनीतिमा आउन सक्छन् । तथापी मुल राजनीतिक पार्टी र नेतृत्वले मुलुकको विकास र समृद्धिका बारेमा, असल र सुसंस्कृत राजनीतिका बारेमा, शान्ति र स्थायीत्वका बारेमा बस्तुनिष्ट विश्लेषण गर्नुपर्छ । किन भने राजनीतिको बजारमा अनेकौं दृश्यहरू देखिन सक्छन् । तर, आवश्यक र असल चित्र कुन हो ? त्यो पत्ता लगाउन पर्छ ।

प्छिल्लो समय नेपाली राजनीतिमा ‘नयाँ र पुराना’ भन्ने भाष्य चलिरहेको छ । राजनीतिमा नयाँ र पुराना भन्ने त हुँदैन । तर, नेपाली राजनीतिमा अनेका भाष्य विक्री हुन्छन् । नेपाली राजनीतिको बजारमा जेसुकै कुरा विक्री हुनेहुँदा अहिले नयाँ र पुराना भन्ने भाष्य विक्रि भइरहेको छ । जस्तो सुकै चिज पचाउन सक्छ । अर्कातर्फ को नयाँ ? को पुराना ? को सत्तामा, को सडकमा ? यहाँ भद्रगोल छ । सत्तामा भएकाहरूले पनि सडक प्रदर्शन गरिरहेका हुन्छन् । सडकमा देखिनेहरू पनि सत्ताभन्दा धेरै पर बस्नै सक्दैनन् ।

नैतिकता सिकाउनेहरू नै अनैतिक
खासगरी राजनीतिमा अरूलाई नैतिक राजनीतिको पाठ सिकाउने धेरै भेटिन्छन् । माथि भनेकै कुरालाई मान्ने हो भने पनि पुराना नेताहरू (माधव, प्रचण्ड, देउवा, ओलीहरू) ले यसअघि पटकपटक नैतिक राजनीतिको गफ नहानेका होइनन् । उनीहरूले क्रान्तिका कुरा गरे । आन्दोलनका कुरा गरे । क्रान्ति र आन्दोलन पनि गरे । क्रान्ति र आन्दोलनका क्रममा अनेकौं सपनाहरू बाँढे । तर, कालान्तरमा आएर आफ्नो पुस्ताको मात्र नभएर दोस्रो र तेस्रो पुस्ताकोसमेत राजनीति आफै गर्न तम्सिए । त्यसपछि पुराना र नयाँको भाष्य निर्माण भयो । आज पहिलो पुस्ताका नेताहरूप्रति जनताको भरोसा टुटेर गयो । यसको मुख्य कारण उनीहरूले भन्छन्, एउटा । व्यवहारमा अर्को गर्नथाले । जे भन्छन्, त्यो नगर्ने, जे भन्दैनन् त्यही गर्ने काममा ती नेताहरू देखिए । यस्तो राजनीतिक प्रवृत्तिले देश बन्दैन र बनाउदैनन् भन्दै केही नयाँ भनिएकाहरू सहतमा देखिए ।

पुराना नेता र पार्टीलाई ‘नो नट अगेन’, चोर, फटाह, भ्रष्टचारी उफ ! कति हो कति । अरूलाई यस्ता अनैतिक आरोप र गालीको वर्षा दिएर देश बनाउन तम्सेका रविहरू, हर्क र बालेनहरूका वर्तमान अभिव्यक्तिहरू सुन्दा तीनीहरूको नैतिकताको उचाई कति छ भनेर सहझै अनुमान गर्न सकिन्छ । रविहरू नेपाल सरकार मुर्दावाद, जुठो पर्यो भन्दैछन् । सिके र रेशमहरू पारिवारिक कहलको तलाउमा पौडी खेल्दैछन् । हर्क अराजक शैलीमा हैट…भन्दैछन् । यता काठमाडौँका बोलन भुसतिर्गेहरू बोकेर सिंहदरबार जलाउने नारा लगाउदैछन् । यी सबै दृश्यहरू हेर्दा यीनीहरू अराजक पपुलिष्टहरू हुन् भन्न आइतबार कुर्न पर्दैन । जसले हिजोका दिनमा पुराना राजनीतिक दल र नेताहरू खराब भए भन्दै आफूहरू नैतिक राजनीतिको शिक्षा सिकाउछौँ भनेर उद्घोष गरेका थिए, तीनै व्यक्तिरू आज पुरानाभन्दा पतित र गन्हाउने देखिए । यो मुलुकका निम्ति निक्कै दुःखद कुरा हो । नयाँ भनिनेहरूका हावादारी गफमा केही निर्वाचन क्षेत्रका जनता झुक्किएको देखियो पनि । लोकतन्त्रमा जनता झुक्किन र झुक्याउने छटु हुँदैन । तर, हाम्रो मुलुकमा लोकतन्त्रका विरुद्ध यस्ता अनेकन दृश्य देखिन थालेका छन् । भए नभएका, हुने नहुने गफमा मुलुक रूमुलिरहेको देखिन्छ । अराजक पपुलिष्टहरूका अराजक गतिविधि अहिले सडकमा देखिरहेका छन् । उनीहरूले सडकमा भीड देखाएर कानून र अदालतलाई तर्साउन खोजिरहेको देखिन्छ । यो लोकतन्त्र विरोधि कुरा हो भनेर आम जनताले बुझ्नुपर्छ ।

स्मरण होला, कुनै बेला राष्ट्रिय टेलिभिजनमार्फत टुडिखेलमा घुमाएर नाकको डाडी भाच्ने अभिव्यक्ति दिने रवि लामिछाने आज राजनीतिमा छन् । उनको पार्टी जीवनकै संटकमा आइपुगेको देखिन्छ । लामिछाने पक्राउपछि रनभुल बनेको रास्वपा यतिबेला फेस सेभिङको पर्खाइमा देखिन्छ । सभापतिले रास्वपालाई हिरासतमा लिएपछि त्यो पार्टीको असली नैतिकता थप छर्लङ्ग भएको छ । रास्वपाका अन्य नेताहरूले रास्वपा र व्यक्तिबीच भिन्नता देखाउन सकेनन् । पार्टी र व्यक्तिलाई एउटै डालोमा हालेर राखिरहेका छन् । रवि लामिछाने राजनीतिमा आउनु अगाडिकै अपराध आरापमा पक्राउ परेका छन् । रास्वपाका अन्य नेताहरूले रास्वपालाई रविको नाममा सति लैजाने जस्तो मुर्खता देखाए । आज रास्वपाको सडक आन्दोलनले कुन आकार लिन्छ ? भनेर हेर्न लायक छ । अनुसन्धानमा सहयोग गर्छौँ भनेर भन्नुको साटो उनीहरु मुखले अदालतको विश्वास र भर गर्छौं भन्छन्, तर, अदालकै आँगनमा पुगेर अराजकता मच्चाउछन् । जुन कुराले के सन्देश दिइरहेको छ, त्यसकाप्रति उनीहरू जानेर पनि रविसँग डराइहरेका छन् । त्यो पार्टीमा चरम व्यक्तिवाद छ भनेर देखाउछ ।

यसरी हेर्दा कम्युनिष्ट— कांगग्रेसले बनाउन नसकेको देश हामी बनाउछाँै भन्दै उदाएका दलहरू न विचारमा स्पष्ट देखिए, न आन्दोलनका बारेमा । उनीहरू कुहिरोमा हराएको कागझैँ कराउदै हिड्रिहेको छन् । स्वयं आफै कुहिरोको काग बनेकाहरूले देश बनाउछौं भन्दा कसले पत्याइदिने ? अर्थात हर्कहरूका अभिव्यक्तिहरू, सिंहदरबार जलाई दिने बालेनका अभिव्यक्ति र तोसिमाहरूका नेपाल सरकार मुर्दावादका नाराले उनीहरूको नैतिक राजनीति र राजनीतिक परिपक्वता कत्तिको छ, भनेर बुझ्न गाह्रो छैन । अराजक पुपुलिष्टरूको संख्याले बाहेक रवि, बालेनहरूबाट धेरै अपेक्षा गरेको छैन ।

नयाँभन्दा पुराना ठिक
राजनीतिमा मुलतः वैचारिक, सैद्धान्तिक, सांगठनिक र व्यवहारिक कुराले अर्थ राख्छ । राजनीति आन्दोलन निक्कै कठिन कुरा हो । त्यसैमा हाम्रो जस्तो भूअवस्थिति र सामरिक खतरा रहेको मुलुकका निम्ति झन् कठिन कुरा हो । कम्युनिष्ट—कांग्रेस पार्टी र तीनका नेताहरू संख्यात्मक रूपमा बढी छन् । देश विगार्ने पनि उनीहरू नै हुन् । देश बनाउने पनि उनीहरू नै हुन् । देश कहाँनेर पुगेर गलत बाटो लियो भन्ने कुरा पनि उनीहरूलाई नै ज्यादा जानकारी छ । अनैतिक कुरामा देखिएका पनि यीनै पार्टीका मान्छेहरू बढी छन् । यसमा कुनै दुइमत छैन ।

तर, यति भन्दा्भन्दै पनि कानूनी राज्यका निम्ति कम्युनिष्ट—कांग्रेस अहिलेको रास्वपाभन्दा इमान्दार देखिन्छन् । कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री, एमालेका नेता तथा मन्त्रीहरू विवादमा मुछिदा वित्तिकै पार्टीबाट निष्कासित गर्ने र कानूनी कारबाहीमा सघाउने प्रतिवद्धता यीनीहरूले गरेको देखियो । तर, रास्वपा भन्ने पार्टी सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्तिशुद्धिकरणको अभियोगमा पक्राउ परेका सभापति रविलामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो भन्दै आन्दोलन गर्न तम्स्यो । जुन कुरा अनैतिक, अराजनीतिक र अलोकतान्त्रिक छ । सुरूमै उसले अनुसन्धानमा सघाउछौं भनेको भए सायद यतिधेरै आलोचना र प्रश्न गर्ने आधार पाइदैन थियो ।

खैर, यो देश जुन स्थानमा आइपुगेको छ, यसको मुल कारण नै कांग्रेस र कम्युनिष्ट हुन् । यहाँभन्दा अगाडि पनि उनीहरूले नै तय गर्ने विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जाने हो । त्यसैले विगतबाट सिक्ने, वर्तमानबाट सिक्ने र भविष्यमा राम्रो गर्छौं भन्ने, आत्मसमिक्षा गर्ने, मुलुकले भोग्नुपरेका हरेक दुःखबाट पार लगाउने प्रतिवद्धता कांग्रेस—कम्युनिष्टहरूले नै गर्नुपर्छ । भदौरे भेलबाढीले केही समय त प्रभाव पार्ला । तर, यहाँ राजनीतिको नदी बग्नुपर्नेछ, बर्खाको भेलबाढी होइन ।

कसरी बन्छ देश ?
राजनीतिको मुहान भनेको नै जनता हो । मुहान संग्लो हुन जरूरी भैसक्यो । मुहान धुमिल छ भने खोला संग्लो बग्दैन । त्यसैले जनताले मुलुकमा घुस नखाने, सहकारी नलुट्ने, स्टन्टबाज नगर्ने, लोकप्रियतावादेखि टाढा रहने, वैचारिक र सैद्धान्तिक कोर्णबाट स्पष्ट पार्टीलाई रोज्नुपर्छ । चुनावमा नोट खाएर भोटदिने जनताहरूको देश कस्तो हुन्छ ? नोटसँग भोट विक्रि गर्ने जनताहरूले कसतो देश बनाउछन् ? जवाफ सजिलो छ, नेपाल जस्तै ।

बजारमा जसले जे भन्छ, त्यसैको पछी जनताहरू दौडिनु भएन । आज सहकारीको रकम दुरूपयोगको अभियोगमा पक्राउ परेका रवि लामिछाने रिहाको लागि केही मान्छेहरू सडकमा आएका छन्, के साच्चै उनीहरूले रविहरूको राजनीति बुझेका छन् ? रविहरूको विचार र सिद्धान्तबारे जानकारी छ ? सायद छैन । अरूले केही गर्दैछ भने आफूले पनि त्यहि गर्नुपर्छ । जस्तोः काठमाठडौँको बागबजारमा पहिलेपहिले तमाम होटलहरू थिए । अहिले बागबजारमा होस्टेलहरूको राज छ । पहिलेका होटलहरू होस्टेलमा परिणत भएका छन् । अतः निलो क्रान्तिको पछि नबुझेर लाग्ने ? असल, कर्तव्यवान र बुझेको चेतनशील मान्छेले आँखा चिम्लेर सडकमा जान मिल्छ ? मिल्दैन ।

अन्त्यमा, नारामा जान्ने भनेर कोही जान्ने हुँदैन । पारामा पनि जान्ने हुनुपर्छ । हल्ला गर्नेहरूबाट जनता सचेत बन्नुपर्छ । जनता नै लोकतन्त्रका निर्माता हुन् । लोकतन्त्र नै जनताको शासन व्यवस्था हो । यहि लोकतन्त्रलाई बलियो बनाउने कि कमजोर ? त्यो पनि त जनताकै जिम्मेवारी होइन र ?

About The Author