धादिङ-गणेश हिमाल बेस क्याम्प नजिकै फसेकाहरुलाई उद्दार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो
गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।
खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपासमा फसेकाहरुलाई उद्दार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटक पटक ल्याण्ड गर्ने प्रयास गरेपनि खराब मौसम र संचार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
ट्रेकिङ टोलीमा रहेका रुवीभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेस क्याम्पको केही तल (करिब डेढ घण्टाको दुरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना बिरामी परेका छन् । संगै ट्रेकिङमा रहेका ११ जना भने रुवीभ्याली गाउँपालिका-४ हिन्दुङ नजिकै आइपुगेका छन् ।
पर्यापर्यटन प्रवर्द्वनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राती त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिचुटका कारण बिरामी परेका थिए ।
त्यस स्थान नजिक मानव वस्ती नभएको र संचार सम्पर्क नभएपछि बुधबार बिहानदेखि छ घण्टा हिडेर संचार सम्पर्कमा आएको ट्रेकिङमा रहनुभएका पत्रकार मिलन तिमिल्सिनाले बताए ।
ुफसेको ठाउँ बेस क्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दुरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राती त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौ तिमल्सिनाले भने । ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए ।