काठमाडौं-अजय देवगन स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को नेपाल प्रदर्शन शुक्रबारदेखि रोकिने भएको छ । वितरक ए–एटले प्रदर्शकलाई यसबारे जानकारी दिइसकेको स्रोतहरुले पुष्टि गरेका छन् ।
वितरण ‘इस्यु’को कारण फिल्मको प्रदर्शन उतार्ने निर्णय वितरकले गरेका हुन् । जसकारण क्यूएफएक्स र आईएनआई लगायतका हलले शुक्रबारको शो हटाएका छन् ।
‘वितरण कम्पनीले शुक्रबारदेखि फिल्म उतार्न हललाई भनिसकेका छन्’, स्रोतले भन्यो, ‘बिहीबारसम्म मात्र फिल्म प्रदर्शन हुनेछ ।’ नेपालमा ए–एट, डीसीएन र आरआर मिलेर महंगो मूल्यमा यो फिल्मलाई ल्याएका हुन् ।
चल्दाचल्दैको फिल्म उतार्न लागिएको कारणबारे विस्तृत उल्लेख गरिएको छैन । यद्यपि, दर्शकले शुक्रबारदेखि फिल्म हेर्न पाउने छैनन् । रोहिट शेट्टी निर्देशित फिल्म बिहीबार पनि ३० शो हाराहारीमा प्रदर्शन हुनेछ ।
‘सिंघम अगेन’ रोकिंदा यसको प्रत्यक्ष लाभ अहिले हलमा चलिरहेको सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ र शुक्रबारदेखि लाग्न लागेको ‘ह्रस्व दीर्घ’लाई मिल्ने देखिएको छ ।