Mon. Nov 25th, 2024

नेपालबाट भारतमा चियाको निर्यातसँगै भाउ पनि बढ्यो

काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस वर्ष चियाको भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ । भारतमा चिया उत्पादन घटेकाले नेपाली चियाको माग र भाउ दुवै बढेको चिया सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष हर्कबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष किलोको ९० देखि एक सय रुपैयाँमा निर्यात गरेको चियाले यस वर्ष एक सय ६० देखि एक सय ६५ रुपैयाँ भाउ पाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ । सीटीसी, अर्थर्डक्स र ग्रीन टीसहित नेपालमा वर्षेनि दुई करोड किलोभन्दा धेरै चिया उत्पादन हुन्छ ।

About The Author

अन्य समाचारहरु: