काठमाडौँ – काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन् । संघ सरकारले नसक्ने हो भने आफूहरु (स्थनीय सरकार)ले सञ्चालन गरेरदेखाउने उनको भनाइ छ ।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए । विक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने उनको भनाइ छ ।
मेयर साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखानामा आएर हेर्दा स्पष्ट हुने समेत बताए । उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताउँदै लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको समेत बताए ।
साहले २०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताए । उनले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको तर्क गरे । आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताउँ उनले सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने ठोकुवा गरे ।
सिंह दरबार वैद्यखाना सञ्चालनमा सरकारको चरम लापवाही रहेको बताउँदै उनले भने, अहिले जताततै भवन छ, औषधि छैन । दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन । यहाँनेर सरकार परिवर्तन भएपिच्छे यहाँको एमडी चेन्ज हुन्छ । यहाँको एमडी ५० हजारमा पनि चेन्ज हुन्छ । पहिला ५० हजार रुपैयाँमा पनि एमडी चेन्ज भएको ठाउँ हो । अहिले रेट बढ्यो कि घट्यो के छ थाहा भएन । ठेक्का लाग्दा शुरुवाती कुरामै कमी कमजोरी देखिन्छ । ठेकेदारसँग ठेक्का गर्नुपर्छ । उसले राम्रो जडिबुटी दिँदैन, जडिबुटी नै राम्रो नआएपछि कसरी राम्रो उत्पादन हुन्छ रु आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो, हाम्रो संस्कृति हो । सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ ? देश जोगाउन शुरुमा यस्तो ठाउँ जोगाउनुपर्यो नि ।
सरकारले हेरेका वा सञ्चालन गरेका निकायहरु प्रायः सबै डुबेको उदाहरण दिँदै बालेनले मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको र सञ्चालनमा रहेकालाइ विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, सचिवज्युको एउटा कुरामा म के सहमत भएँ भने मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ । किनभने एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ । वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ । सबै बराबर छ । मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन । सबै चिज डुबाइएको छ । यो सबै चिज उकास्न जरुरी छ ।