Mon. Jan 27th, 2025

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बुधवार बंगलादेशसँग खेल्दै

काठमाडौं-नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग बुधवार भिड्दैछ । यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रश्तुत गर्न लागेको हो ।

गत संस्करण पनि नेपाल घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो । यसपल्ट यी दुई टोली दशरथ रंगशालामा नै आमनेसामने हुँदैछ । यस पटक भने नेपाली टोली यो अवसर खेर नफाल्ने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन् ।

फाइनलअगाडि पत्रकार सम्मेलनमा एञ्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन् । उनले बंगलादेश धेरै राम्रो टोली रहेको उल्लेख गर्दै विपक्षीलाई चुनौती दिन आफ्नो टोली तयार र सक्षम रहेको प्रतिक्रिया दिएकी छन् ।

उनले सेमिफाइनलमा अहिलेसम्मकै धेरै समर्थकको साथ पाएको स्मरण समेत गरिन् । उक्त समर्थक फाइनलमा पनि आउँदा नेपालका लागि त्यो बलियो साथ मिल्ने उनको विश्वास छ ।

कप्तान एञ्जिलाले अहिलेको टोली धेरै राम्रो र मजबुत रहेको पनि बताइन् । यो पुस्ताले पनि जित्न नसके नयाँ बलियो टोली निर्माणका लागि जित्न ५÷१० वर्ष लाग्न सक्ने उनको भनाइ छ ।

त्यसैले पनि आफूहरू उपाधि जित्ने यो राम्रो अवसर गुम्न नदिने उनी बताउँछन् । गत संस्करणमा बंगलादेशसँग पराजित भएको स्मरण गर्दै उनले यसलाई बदलाका रूपमा भन्दा च्याम्पियन बन्ने अवसरका रूपमा लिने उनको भनाइ छ ।

नेपालले साविक विजेता बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे खेल्दै छ । गत संस्करणमा नेपालमाथि ३–१ को जित निकाल्दै बंगलादेश पहिलोपल्ट च्याम्पियन बनेको थियो । कप्तान एञ्जिलाले यो विगत भइसकेको र हाल आफ्नो टोली उच्च लयमा रहेकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताइन् ।

पाँच पटक उपविजेतामा चित्त बुझाएको तर यो विगत भएको बताइन् । यी हारबाट धेरै कुरा सिकेको उनको भनाइ छ । विगतका गल्ती नदोहो¥याउने उनको प्रतिवद्धता छ । वर्तमान समयमा टोली उत्कृष्ट छ । त्यसैले उपाधि घरमै राख्नेमा आफू विश्वस्त रहेको एञ्जिला बताउँछन् ।

नेपालले भारत र बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले पनि टोलीको कमजोरी डिफेन्स लाइनमा सुधार भैसकेको उल्लेख गर्दै उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताए ।

उनले पनि अहिलेसम्मकै बलियो साथ घरेलु समर्थकबाट भारतविरुद्ध पाएको र फाइनलमा पनि त्यो अवसर मिल्ने उल्लेख गरे ।

यसले नेपाली टोलीको विश्वास बढ्ने उनको आशा छ । प्रशिक्षक तामाङले बंगलादेश धेरै राम्रो खेल्ने टोली रहेकाले गल्ती गर्ने छुट नहुने बताएका छन् ।

बंगलादेशले खेल्ने फुटबल शैली युरोप जस्तै रहेको र त्यसलाई रोक्न आफ्नो टोली तयार रहेको उनको विश्वास छ । साथै उनले रेखा पौडेलको अभाव हुन नदिन उनको विकल्पमा तयारी गरेको बताएका छन् ।

सोही अवसरमा उनले दर्शकबाट पाहुना या अन्य टोलीमाथि चोट पुग्ने गरी भएका आक्रमण गलत भएको बताए ।

About The Author

अन्य समाचारहरु: