
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरू फस्टाउन नदिइने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरूले नेपाली मनलाई विभाजित गर्न खोजेका दाबी गरे । उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरूमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिश भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।
उनले भने , ‘यति बेला अनेक प्रकारका शक्तिहरू नेपाली मनलाई विभाजित गर्न खोजिरहेका छन् । भूमित त विभाजित गर्न सक्दैनन्, त्योभन्दा अगाडि नेपाली मनलाई विभिन्न नाममा विभाजित गर्न खोजिरहेका छन् । साम्प्रदायिक विद्वेष अथवा अराजक गतिविधि, संविधान र कानून विपरीतका क्रियाकलापहरू भइरहेका छन् । म प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, ती कुराहरूलाई कुनै पनि हालतमा मौलाउन, फस्टाउन दिँदैनौँ ।’