काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक आन्दोलन जारी राख्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको सहप्रवक्ता रमेश प्रसाईंले जानकारी दिए ।
राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै बैठकले सातै प्रदेशमा आन्दोलन गर्ने निर्णय गरेको प्रसाईंले जानकारी दिए । उनले रविमाथि प्रहरीले दुर्व्यवहार गरेको बताए ।
उनले भने, ‘राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको हो । पूर्वगृहमन्त्री जस्तो व्यक्तिलाई प्रहरीले त भनेर दुर्व्यवहार गर्नु गलत हो ।’
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्दछ ।’
सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय गरको छ ।