नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको दाबी गरेका छन् ।
भ्रष्टाचार मुद्दा लागेका व्यक्तिबाट अर्बौंको जग्गा दान लिएर प्रधानमन्त्रीले आफूलाई भ्रष्टचारीको संरक्षक पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर नेपालले आज जुम्लामा गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैंले पुष्टि गरेको स्थिति छ । तैपनि हामीले सरकारलाई सय दिनसम्म हनिमुन पिरियड भनिन्छ । त्यो बेलासम्म खासै विरोधका कार्यक्रम गरेका थिएनौ, छैनौँ ।’
सरकारको सय दिन कट्ने बित्तिकै विरोध गर्ने पनि उनले बताएका छन् । ‘सय दिन पुगेपछि विरोध सुरु हुन्छ’, उनको भनाई छ । आजै विपक्षी दलका तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने र विरोधका कार्यक्रम शुरु गर्ने प्रचण्डले जानकारी दिए ।
आफ्नो नेतृत्वको सरकारले सुशासन, आर्थिक सम्मृद्धि र अन्तर्राष्ट्रिय रूपमा पनि देशको इज्जत बढाउन महत्त्वपूर्ण काम गरेको तर भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि संसदका दुई ठूला दल मिलेर सरकार ढालेको उनको जिकिर छ । नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त समातिएपछि बूढानीलकण्ठ र बालकोटमा भूकम्प गएको प्रचण्डले बताए ।