Tue. Nov 26th, 2024

रविलाई लामिछाने : अदालतमा आज उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त

पोखरा– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबारमात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो ।

कास्की जिल्ला अदालतका ६ जना न्यायाधीश शुक्रबार बिदामा थिए । नेपालगञ्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हतारहतार पोखरा आएलगत्तै पक्राउ पुर्जी जारी गरिएको थियो । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाब कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् । शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।

यसअघि गत असोज ६ गते गोर्खा मिडिया प्रालिकै पूर्वसञ्चालक पूर्व डिआइजी छविलाल ओझालाई पक्राउ गरेर पोखरा ल्याउँदा नै रविसमेत पक्राउ पर्न लागेको भन्दै रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका थिए । सहकारी पीडितले पनि रविलाईसमेत पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै शहीद चोककै जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गर्दा केही समय पीडित र समर्थन आमने–सामने भएका थिए ।

पोखरामा सहकारी पीडित र रास्वपाका नेता(कार्यकर्ता आमने–सामने हुन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

शुक्रबार पनि दुवै पक्ष आमने–सामने हुँदा सुरक्षा चुनौती हुनसक्ने भन्दै पीडितलाई कुनै पनि प्रदर्शन नगर्न भनिएको थियो । रास्वपाले मानव अधिकार चोकमा प्रदर्शन गरिरहँदा केही सहकारी पीडित भने जिल्ला प्रहरी कार्यालय कास्की बाहिर जम्मा भएका थिए । तर, आफूहरुकै जाहेरीका आधारमा रवि पक्राउ परेकाले पनि अहिले प्रदर्शन नगर्ने सहकारी पीडितहरुको भनाइ थियो ।

रास्वपाका नेता–कार्यकर्ताले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएका रविलाई पक्राउ गरी कांग्रेस, एमालेले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्ले, डिपी अर्याल, सहप्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, तोसिमा कार्कीलगायतले रवि पक्राउको मूल्य सरकारलाई चर्को पर्ने चेतावनी दिएका छन् ।

सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ उठाउन आफूहरुले आवाज उठाइरहेको तर सरकार ५ करोडको पछाडि लागेर संलग्न नै नभएका रविलाई पक्राउ गरेको उनीहरुको भनाइ छ । उनीहरुले एमालेलाई जग्गा दान गर्ने मिनबहादुर गुरुङको मुद्दा विषयान्तर गर्न, सहकारी ठगीमा संलग्न कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेललाई जोगाउन रविलाई पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

About The Author

अन्य समाचारहरु: