काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।
जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो ।
जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो । जिल्ला जिल्लाले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।
जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ।
लामिछानेलाई पृथ्वी राजमार्ग हुँदै आजै कास्की लगिदै छ । रास्वपाका सह प्रवक्ता मनिष झाका अनुसार रविको साथका रास्वपाका केही नेताहरु पनि पोखरा जाँदै छन् ।