
काठमाडौं– भारतबाट ल्याउन लागिएको चामल गुणस्तरहीन रहेको फेला परेपछि नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट ल्याएको ८५ हजार किलो चामल न्यून गुणस्तर भएको भेटिएपछि बुधवार फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक रहेको पाइएको प्रेस विज्ञप्तीमार्फत् जनाएको छ । सो चामल नेपाल सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्डबमोजिम न्यूनस्तर रहेको पाइएको विभागको भनाई छ ।
विभागअन्तर्गत भन्सार नाकामा रहेका १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा गुणस्तर परीक्षण गरिँदै आएको छ । काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी, गड्डाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका प्रयोगशालाहरूबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरूको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रूपमा गरिँदै आएको विभागले जनाएको छ ।