Mon. Mar 10th, 2025

धादिङमा बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

dhading-map_213888077
२२ भदौ, धादिङ – भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी उपचारको क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलङ्कीमा १९ वर्षीया रन्जीता ढुङ्गानाको मृत्यु भएको हो ।

चालीस जना यात्रुमध्ये ३४ जना घाइते भएका छन् । घाइतेमध्ये सिटी सेन्टरमा तीन, वीर अस्पतालमा १३, न्यूरो अस्पतालमा पाँच, बिएन्डबीमा पाँच, स्टार अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।
ललितपुरको गोदावरीमा १२ वर्षे मेला भरेर फर्किएका तीर्थालु चढेको बा २ ख २३२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

तीर्थयात्राका निम्ति चक्रपथमा गुड्ने बस रिजर्भ गरेर गाउँका मानिस जम्मा भएर गोदावरी पुगेका थिए । चालकलाई बाटोको ज्ञान नहुँदा साँघुरो बाटोमा तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पल्टिएको स्थानीयवासी बताउँछन् । रासस

About The Author

अन्य समाचारहरु: