काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओसेम्सले सोमबारदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्।
गत साता नयाँ प्रशिक्षकमा नियुक्त भएका ओसेम्सले भारतसँगको मैत्री खेलका लागि छनोट भएका ३० खेलाडीलाई सोमबारदेखि एन्फा कम्प्लेक्समा प्रशिक्षणमा बोलाएका हुन्। प्रशिक्षक ओसेम्सले सुरुमा खेलाडीलाई हप्ताको तीन दिन प्रशिक्षण गराउने बताएका छन्। त्यसपछि विस्तारै दैनिक अभ्यास गराइने बताइएको छ।
आसन्न दक्षिण एसियाली फुटबल महासंघ ९साफ० च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताउने लक्ष्यका साथ नेपाली टोलीको प्रशिक्षक बनेका ओसेम्सलाई नियुक्ति भएकै दिन अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ च्याम्पियनसिपको उपाधि जितेमा १५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणासमेत गरेको छ।
बेल्जियमका नागरिक ओसेम्सलाई ६ महिनाका लागि नियुक्त गरिएको हो। एन्फाले उनलाई मासिक सात हजार अमेरिकी डलर दिने सम्झौता गरेको छ। नेपालले केही महिनाभित्र दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० र साफ च्याम्पियनसिप खेल्दै छ। यसैलाई लक्षित गरेर एन्फाले ओसेम्सलाई टोलीको जिम्मेवारी सुम्पिएको हो। ओसेम्सले नेपाली फुटबलले उपाधि जित्न नसकेको अवस्था बुझेर नै आफूले प्रशिक्षकको जिम्मेवारी बहन गरेको बताएका छन्।
आफू पैसा हेरेर नेपाल आएको नभएर यहाँ चुनौतीलाई हल गर्ने बताएका छन्। ओसेम्सले प्रशिक्षणका लागि बोलाएका खेलाडीमा गोलरक्षक किरण चेम्जोङ, विकेश कुथू र रितेश थापा रहेका छन्। रक्षकमा विराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दीप राई, रञ्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी, अजित भण्डारी, रविन श्रेष्ठ र जितेन्द्र कार्की रहेका छन्। मिडफिल्डमा विक्रम लामा, विशाल राई, भोला सिलवाल, जगजित श्रेष्ठ, सुशील केसी, श्याम नेपाली, राजु तामाङ, हेमन्त थापा मगर र विश्वाश श्रेष्ठ छन्।
स्ट्राइकरमा रञ्जन विष्ट, जुमानु राई, अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, भरत शाह र अञ्जन विष्ट छन्।प्रशिक्षक ओसेम्सले राष्ट्रिय लिग फुटबलबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत टोलीमा समावेश गरेर प्रशिक्षण गराउने बताएका छन्। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न सकेको छैन। नेपाल यसअघि तीन पटक सेमिफाइनल पुगेको छ। सागमा पनि नेपालले सन् १९९९ यता फाइनलयात्रा तय गर्न सकेको छैन।
अन्नपूर्णबाट