Sun. Dec 29th, 2024

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

पृथ्वी राजमार्गको अन्तर्गत धादिङको आदमघाट क्षेत्रमा गुडिरहेको सवारीसाधन । तस्बिर: शंकर श्रेष्ठ : रासस

शंकर श्रेष्ठ,

धादिङ– सडक कुनाको भित्ताबाट खसेका स–साना पहिरो नालीमै छन् । आउजाउ छेकिनेगरी झरेका पहिरोहरु पन्छाएपनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ । कृष्णभीरसहित तत्काल मर्मतको संभावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भने छैन । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भन्नुहुन्छ–‘तपाई जो कोही पनि एकदमै कम्फटेवल फिल गरेर हिड्न सक्नुहुन्छ । कहीकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाइको साथमा छौं ।’


एक साता अघि चार दिन निरन्तर परेको वर्षातका कारण पाइलैपिच्छे झरेको पहिरो र गेग्रानले सडक कतै धुलाम्मे छ । भित्तामा मुल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थानहरु हिलाम्मे छ । सडक बिस्तारको काम गर्ने क्रममा भित्ता खारेको स्थानबाट खसेर सडकमा फिजारिएको माटोले घाम लाग्दा धुलो उड्नु र पानी पर्दा हिलो हुनुलाई यतिबेला सामान्य मान्नुपर्छ । किनकी हरेक चालक होसियार भएर सवारी नियमको पालना गर्ने हो भने संभावित दूर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।

दुई पाङ्ग्रे मोटरसाइकल–स्कुटरदेखि चार पाङ्ग्रे कार जीपसँगै ठूला यात्रु बस र दस, बाह्र, चौध पाङ्ग्रे ट्रकसम्म सबै किसिमका सवारी यही सडकमा चलेको छ । राजमार्ग एक मिनेट पनि खाली छैन । दशैं मनाउन घर फर्किनेहरुको भीडले पृथ्वी राजमार्ग रातदिन नै व्यस्त छ । गृह मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मेवारी लिएर कार्यालय प्रवेश गर्नुअघिदेखि नै सडकको जाम हटाउन र जोखिमपूर्ण स्थानहरुको निरिक्षणमा खटिनुभएका प्रहरी उपरीक्षक शाही बताउनुहुन्छ–‘यस्तो अवस्थामा सडक छेउकुनामा डोजर चलाएर कुदिरहेका सवारीलाई पर्खाउन सक्ने अवस्था छैन ।’
त्रिभुवन राजपथको सिक्रेखोलादेखि नागढुंगासम्म यतिबेला अत्याधिक धुलो छ । साना सवारीले झ्यालढोका बन्द गरेर हिड्छन् । तर, मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । रातीको समयमा भने ठूला सवारीका चालकहरु पनि अनुमानको भरमा सवारी चलाउन बाध्य छन् । पानी प¥यो भने त्यहि धुलो लेदो हिलोमा परिणत भएर चिप्लो हुने निश्चित छ । फाटिएका सडक भासिन सक्ने खतरा पनि उस्तै छ ।


धुलोले रङ्मङिगएको बेला जथाभावी उछिन्न खोज्ने र दूर्घटना हुनसक्ने संभावनालाई ध्यानमा राखेर पिपलमोड, झ्याप्ले खोला, गणेश मन्दिरलगायत अप्ठ्यारा स्थानहरुमा ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रुपमा ड्युटि गरिरहेको छ ।
साना तथा हलुका अधिकांश सवारीले धार्के–सितापाइला सडक प्रयोग गरिरहेका छन् । धादिङको गल्छीबाट नुवाकोटको गगटे, छहरे हुँदै काठमाडौं प्रवेश गर्ने र त्यहिसडक प्रयोग गरेर काठमाडौबाट बाहिरिने सवारीको संख्या पनि कम छैन । पछिल्लो समय चित्लाङ र पालुङ भएर हेटौंडा निस्कने सडक मर्मत भएपछि पनि नागढुंगा नौबिसे सडकलाई सवारीको भार केही कम भएको छ । सवारीको भार कम भएसँगै जामको चुनौति पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

नागढुंगा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने र ढुंगा खस्न सक्ने जोखिम छ । जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनगर गरेर पनि साना तथा हलुका सवारीलाई धादिङको वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सुझाव दिने गरेको छ ।

सडक माथी भित्ताहरुबाट सडकमा खसेका गेग्रान ढुंगा, नाली थुनिएर सडकमा बगेको पानी, सफा गर्दै गरेको पहिरोले नौबिसे नागढुंगा खण्डमा जस्तै पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा पनि साना सवारी र दुई पाङ्ग्रे सवारीलाई जोखिमपूर्ण नै छ ।
नागढुंगादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा भएका सबै पहिरो गन्न सकिने अवस्था छैन । करिब ५० भन्दा बढी स्थानमा पानी परेपछि गाडी छेकिने किसिमको पहिरो छ । यसअघि सवारी छेकिनेगरी पहिरो झरेका स्थान, निर्माणधिन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानहरुको दुबैतर्फ ट्राफिक प्रहरी र जनपथ प्रहरी तैनाथ गरेर चालकहरुलाई सजग गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।

पृथ्वी राजमार्गमा दैनिक कति सवारी गुड्छन् ?

नागढुंगाको चेकपोष्ट हुँदै दैनिक कति सवारी काठमाडौ भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्यांक छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने मनगणन्ते तथ्यांक प्रयोग भइरहेको छ ।
नीजि सवारी बाहेक चौबिसैघण्टा सबै सवारीको नम्बरसहित तथ्यांक राख्ने महानगरीय प्रहरी प्रभाग नागढुंगासँग पनि नौबिसे नागढुंगा खण्ड हुँदै दैनिक कति यात्रुबाहक र मालबाहक सवारी आउजाउ गर्छन् भन्ने तथ्यांक छैन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खान भन्नुहुन्छ–‘हामीसँग ठ्याक्कै तथ्यांक छैन । नागढुंगा र धादिङले नै यसको अनुमान लगाउन सक्छ ।’

About The Author

अन्य समाचारहरु: