काठमाडौं – फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।
निवेदन दिन बस्नेत सोमबार बिहान ब्युरोमा पुगेका थिए । फिल्म बौद्धिक सम्पत्ति भएको र जतिपनि युट्युव र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कार्वाही गर्न भन्दै आफूले निवेदन दिएको समेत निश्चलले बताए ।
‘हाम्रो फिल्मलाई मार पर्यो, भएको पाइरेसीविरुद्धको कानून कार्यान्वयन गरिदिनुपर्यो भनेको हुँ’ निश्चलले भने, ‘उहाँहरुले यसतर्फ सघाउने वचन दिनुभएको छ ।’ फिल्मका महत्वपूर्ण अंश पाइरेसी गर्ने एकाउन्टको निगरानी गर्न समेत आफूहरुले आग्रह गरेको निश्चलले बताए ।
‘उहाँहरुले पाइरेसीमा स्थानीय कानून आकर्षित हुने र यसलाई अपराध मानिने बताउनुभयो’ उनले भने, ‘हामीले देखेको र उहाँहरुले देखेको पाइरेसीविरुद्ध कडाइ गर्ने कुरा पनि भयो ।’
यसरी पाइरेसी गर्दा धेरै कुरामा असर गरेको र दशैंमा आउने फिल्मलाई पनि मुस्किल पर्न सक्ने निश्चलको भनाई छ । ‘कानूनीरुपमै ट्याकल गर्नुपर्ने देखियो । विज्ञप्ति जारी गरेर मात्र हुँदैन । कार्वाही नै गर्नुपर्ने भयो’ उनले भने ।