काठमाडौं – अभिनेता बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । उनले यस्ता चरित्रमा अभिनय गर्छन् जसले साथीलाई सल्लाह मात्र हैन, उकास्छ पनि ।
पछिल्ला ब्लकबस्टरदेखि हिट फिल्ममा समेत उनको सहायक भूमिका बाक्लै छ । असोज २४ मा फूलपातिमा रिलिज हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा समेत तामाङ महत्वपूर्ण भूमिकामा छन् ।
यो फिल्ममा दर्शकले उनलाई कमेडी भूमिकामा देख्न पाउँछन् । यसमा आफ्नो चरित्र प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने कलाकारको रुपमा हुने उनको भनाई छ ।
‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाईलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ’, बुद्धि भन्छन् । उनको बुझाईमा फिल्म भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिनु नै हो ।
‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मजा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही यो फिल्म हेर्छ भने इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा छ’, बुद्धि खुल्छन् ।
ट्रेलरमा नीति शाहको चरित्रलाई श्रीमती बनाउन चाहने युवाले प्र्रतियोगितामा भाग लिएको देखाइएको छ । श्रीमती र सम्पत्ति पाउने यो प्रतिस्पर्धामा पनि बुद्धिको पात्रले पनि भाग लिएको छ ।
‘यो प्रतिष्पर्धा असल ज्वाइँ बन्न के–के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ । तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’
बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला फिल्मभन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ’, बुद्धि भन्छन् ।
निर्देशक वसन्त निरौलासँग बुद्धिको फिल्म ‘होलिडे’पछि दोस्रो सहकार्य हो । उनले जितुसँग ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् । फिल्म ‘कार्साङ’मा पनि बुद्धिले जितुसँग सहकार्य गरेका छन् ।