– रामकुमार एलन
प्रसंग सर्वोच्च अदालतको हो । ‘सिधाकुरा’का पत्रकारहरु नवीन ढुंगाना र युवराज कँडेललाई ३ महिना काराबास फैसला भयो । आइतबार भएको यो फैसलामा उनीहरुलाई थप पाँच हजार रुपैयाँ पनि जरिवाना भएको छ । अदालतले ‘पादटिप्पणी’ (सायद अहिलेका पुस्ता यस्ता शब्द बुझ्दैनन्, बुझ्दैनन् भन्दैमा नेपाली लेख्न छाड्न पनि भएन !) मा भनेको छ, ‘माफी मागे ७ दिन मात्र जेल ।’ अर्थात् पत्रकारलाई जेल हाल्ने वडासचिवदेखि सर्वोच्चका श्रीमानहरुको भित्री मनमा उम्लिरहेको ज्वालाले यसरी नै काम गरिरहेको छ । गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवानाको कुरा स्वयम् मन्त्रीले थाहा नपाइ विधेयकमा घुसेको थियो । छाडा युट्युबर र ब्लगले निम्त्याइरहेको ‘श्वेतआतंक’ नियन्त्रणका लागि विधेयक ल्याउन खोजिएको थियो तर यति धेरै जरिवाना कताबाट घुस्यो, समयक्रममा कुनै समय बाँस्कोटाले योबारे पनि बोल्लान् । किनभने उनी पत्रकार हुँदै पत्रकार विभागकै राज्यमन्त्री र मन्त्री भएका हुन् । सञ्चार बुझेका मान्छे सञ्चारमन्त्री हुनु र अरु तलुवाहरु मन्त्री हुनु फरक कुरा पनि हो ।
नेकपा एसकी नेत्री सावित्रा भुसालले भन्नु भएको छ, ‘पञ्चायतकालमा हामी आन्दोलनमा उत्रँदा ‘अराष्ट्रिय तत्व’ ‘करार’ गरिन्थ्यो र ‘माफी’ मागेपछि तत्काल ‘राष्ट्रिय’ बनाएर छाडिन्थ्यो । त्यतिखेर व्यवस्थाविरोधी आन्दोलनमा जीवनका उर्वर समय व्यतीत गरेका राजनीतिक नेता कार्यकर्तालाई यिनै श्रीमानहरु ‘अराष्ट्रिय’ करार गरिदिन्थे । ‘राष्ट्रिय’ बनाइदिन्थे । धेरै ‘राष्ट्रिय’ तत्वहरु कम्युनिष्ट र कांग्रेसमा बसेर ‘अराष्ट्रिय’हरुको सूचना बेच्थे, त्यही भत्ताले धेरै सत्तामा नपुगे पनि अकुत सम्पत्तिका धनी भएका छन् । तिनको लेखाजोखा हामी कहाँ हुन्न । अहोरात्र राजनीतिमा खटिएकाहरुले काठमाडौमा घर बनाएपछि भ्रष्टाचारी भन्ने हाम्रो बानी छ । यही बानीले हामीलाई इमानदार होइन, भ्रष्टाचारी हुन प्रेरित गरिरहेको छ । जस्तो सुशासनको कुरा गरेर नथाक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नै यतिखेर सहकारीको रकम हिनामिनामा जोडिएका छन् । उनी होइन भन्दै हिँडिरहेका छन् । राज्य हो कि होइन भनेर महिनौँदेखि विभक्त छ ।
यिनै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टेलिभिजन सचिवालयमा काम गरेका पत्रकारहरु हुन नवीन र युवराज । उनीहरुले अदालतका श्रीमानहरुले पनि हाकाहाकी मोलमोलाइ गरेर रकम लिन्छन् भन्ने एउटा अडियो फाइललाई ‘डार्कफाइल’ भन्दै समाचार अँ, समाचार त के भन्नु, मसला बनाए । त्यो मसला पोखराको सेतो ‘आर ए आर ए रारा’ चाउचाउ भन्दा चौधरीको ‘वाइवाइ’जस्तो अमिलो पिरो र रंगीन र्यापरमा आएपछि जनताले मीठो मानेजस्तै नयाँ र ‘दामी पत्रकारिता’ ठानिदिए । रुचाइदिए । सूचनादाता लुकाउनु पर्नेमा समाचारमा निज श्रीमानहरुको ध्यान भंग भएपछि उनीहरुले सूचनादाताबारे पनि जानकारी दिए । आफूलाई समाज बदल्न हिँडेको बताउने राजकुमार तिमिल्सिनाले दिएको सूचनाले ‘सिधाकुरा’को डार्क फाइल ‘हिट’ मात्र भएन । सिधाकुराको पत्रकारिता यात्रामै श्रीमानहरुले ‘डार्कडे’ बनाइदिन सक्दो मदत गरे फलतः सिधाकुमारले ‘निज’हरुको ‘उक्त सामग्री’ वेबसाइटबाट मटियामेट पारे । तैपनि अदालत छिरेको विषय छिनोफानोमा नपुगी के फर्कन्थ्यो ।
आमजनताले न्याय पाउनु पर्ने भए पो वर्षौँ लाग्थ्यो, यो दुई पत्रकारलाई तर्साएर बाँकीलाई ‘देख्लास्’ भन्नुथियो । जोडिएको पार्टी फुटाइदिने तागत भएको अदालतले दुई पत्रकारलाई तत्काल कासन तोकिहाल्यो । डार्क फइल उपलब्ध गराउने सामाजिक अभियान्ता नाम गरेका व्यक्ति पनि पत्रकारलाई सूचना दिँदा दोब्बर जेलमा तोकिए । नेपाली पत्रकारिताको यो संकट हो या शासकहरुको अत्यधिक ‘राष्ट्रियता’ र ‘राष्ट्रवादीपन’ कलम चोब्नेहरुबाहेक अरु सबै अराष्ट्रिय करार हुन्छन् । दार्शनिक रुपचन्द्र विष्टले कटाक्ष गरेजस्तो, दुर्घटनामा मर्ने यात्रुकै दोष हो, किन त्यही गाडीमा चढेको त्यो, त्यसमाथि शनिबार किन हिँड्नु परेको भनेर दोष मर्नेलाई दिने समाजकै रुपान्तरण यहाँसम्म आइपुग्दा पनि को राष्ट्रिय, को अराष्ट्रिय भेउ पाउन सकिएको छैन । त्यसमाथि आएको सूचनालाई ‘पकाउनु’ पर्नेमा माथिमाथि धनियाँ मात्र छरेर ‘बास्नादार’ र ‘काँडेदार’ बनाउने पत्रकारहरुले भने सिक्नै पर्छ । आएका सबै सूचना सही हुँदैनन् । सही सूचना पनि समयमा दिन अन्कनाउनु पर्छ । त्यसले जनहितकारी योजनाहरु र जनमुखी कार्यहरुलाई निरुत्साहित गर्छ भने समाचार केही समय रोकेर ‘प्रयोगशाला’मा परीक्षण गराउन लाग्नु पर्छ । यसपटक पत्रकारले पनि सिक्नु पर्छ भनिएको न पहिलो हो, न अन्तिम हो । दुःख हुन्छ, हतार नगरौँ भनेर भन्दा पत्याइयो भने त पत्रकारिताको अर्थै भएन नि भनेर पत्रकारहरु फेरि कम हौसिन्नन् !
अब फेरि रवि लामिछानेतिरै जाउँ । रवि लामिछानेको ‘छोटो करियर’ सबै र सधैँ विवादको भूमरीमा मडारिइरहेको छ । दुनियाँलाई प्रश्न गर्ने उनी र उनको टिम अनि उनको नाम जोडिएको समाचार कक्षले कहिल्यै पनि आफ्नाबारे उठेको प्रश्नको जवाफ दिन जरुरी ठानेन । बरु प्रश्न सोध्नेहरुलाई ‘१२ भाइ’ भनेर लामिछाने युट्यबुर भेला पारेर गाली गर्थे । यही साता नै हो, एउटा उनका चेलाले मलाई समेत टिकटकमा म्यासेज गरेर ‘रिप’ लेखेका छन् । भगवान शिवको आलोचना हुन्छ बहुविवाह र बालविवाह अनुचित भनेर । बुद्धको शान्तिमार्ग नरुचाउने अराजकहरु छन् । गीता, महाभारतजस्ता अकाट्य ग्रन्थका केही बुँदा फेर्न जरुरी भनेर बहस चलिरहेको छ । नेपालकै संविधान संशोधन गर्ने भनेर गिरीबन्धु टि र नक्कली भुटानी शरणार्थी किनबेच कम्पनीहरुको गठबन्धन भएको हो । सरकारमा पुगे पनि यो कलंक उनीहरुले पखाल्न सकेका छैनन् । अब रविको ओरालो यात्रामा केही यस्ता चम्चाहरु छन्, जो प्रश्न गर्नेहरुलाई लखेटिरहेका छन् । श्रद्धाञ्जली लेखिरहेका छन् । तिनलाई साइबरमा मुद्दा दर्ता गरेका दिन आमा, स्वास्नी, बहिनी, छोरी रुँदै आउनेछन् र भन्नेछन्, ‘खाएको बेला लेख्नु भयो होला, एक तालिलाई छोडिदिनू न ।’ यसरी सामाजिक सञ्जालमा अराजकताको व्यापारको ठूलो मठाधीश अहिले रवि लामिछाने भएका छन् । शालिकराम पुडासैनी झुण्डिए, उनका ड्राइभर किन छतबाट लडे, उनले चितवनमा चलाएको नीलो बस खोइ, सहकारीको ९५ करोडमा उनै सही छ भन्दा ‘रिप’ लेख्ने घण्टीजनहरु थुतुनो नचलाइ–नचलाइ अरु राजनीतिक शक्ति पनि स्थापित भइरहेका छन् । तिमीहरुको भिड अदालत र जनता दुवैतिरबाट बहिस्करणमा पर्दैछ भनेर दिनमा एक घण्टा भए पनि सोच्ने गर । नत्र २०८४ को चुनावमा केशव स्थापितकै जस्तो घण्टी बज्ला फेरि ।
फेरि पनि पत्रकार थुनिनु हुन्न भनेर यसपटक वकालत गरियो । केही घण्टीजनहरुले यसको सम्मान गरेको पनि देखियो । अदालत जहिले महंगो हुन्छ, प्रमाणको आधारमा फैसला गर्छ । एउटै किसिमका मुद्दामा पनि अनेक नजीर पेश हुँदै फरक फैसला हुन्छ । यो विषय जिउँदोजाग्दो ‘राष्ट्रियता’ हो या श्रीमानहरुको तजबिन, निजहरु जानून् । के हो रित, के हो बेरित, उनीहरु गहन अध्ययन गर्छन् र राय बाझिने अवस्थामा पनि पुग्छन् । तर पत्रकारिता चैँ ‘झिंगा मार्न पेस्तोल हान्ने’ शैलीमा अघि बढिरहेको छ । यसैले अलिअघि आएको ब्लग, त्यसपछि आएको युट्युब, अनि आएको फेसबुक र अहिले आएको टिकटकले हाम्रो पत्रकारिता लोप हुँदैछ भनेर अरुको डार्क फाइल खोजिरहँदा हाम्रो आफ्नो डार्क पार्टबारे पनि छलफल चलाउन हामी किन तयार नहुने ? अदालत व्यवस्थापकहरुसँग बसौँ । बारसँग छलफल गरौँ । लोकतन्त्र हामी सबैले ल्याएको हो र लोकतन्त्रको फलिफापका नाममा हजारौँ ठेकेदार, दलाल, सामन्तहरुको व्यवस्थापन हुँदा अक्षरखेतीमा रमाएर सत्ताको रसवरी चाट्न नपाउने कोही हुन् भने तिनीहरु यही पत्रकारहरु हुन् । सबै पत्रकारका तर्फबाट सत्तामा पुगेका रवि लामिछाने पनि सत्तामा पुगेपछि पत्रकाररहित भए । पत्रकारलाई गाली गर्न थाले । कुनै पनि पत्रकारले उनको कुरा दिन जरुरी ठानेनन् बरु दुर्गा प्रसाईंका छाडा कुरा बेचेर स्वास्नी, छोराछोरी पाल्नु निको ठाने ।
सन्तुलित भएर समाचार लेख्न हामीले छाडेको होइन, यसलाई संस्थागत गरेका हौँ । हाम्रो मूल नै राजनीतिक द्वेषले भरिपूर्ण थियो । तपाईं कांग्रेसी रगतको हुनुहुन्थ्यो, कम्युनिष्टको मात्रै अपराध र भ्रष्टाचार देख्नु हुन्थ्यो, म रुपचन्द्र विष्टको फलोअर थिएँ, त्यसैले पञ्च, कांग्रेस भाइभाइ भन्थेँ । पछि अरु पार्टीहरु आए, गजेन्द्र नारायण सिंहले कांग्रेसले मात्रै मधेशको हित गरेन भनेर मधेशी पार्टी खोले । तर त्यो पार्टीको नाममात्रै सद्भावना रह्यो । त्यहाँका नेताहरुबीच सद्भाव नरहेपछि पार्टी फ्ुट्न थाले । मधेशी पार्टीहरुको झैझगडा देखेर एक जना वैज्ञानिक शुरुमा देशै टुक्र्याए पनि हुन्छ, मधेश आजाद भन्दै आए । उनलाई पनि केपी ओलीले यस्तो मीठो राजनीतिक घाँस हालिदिनु भयो कि अहिले मधेश टुक्र्याउने त त्यस्तै हो, परिवार टुक्र्याइपाउँ भनेर अदालत धाइरहेका छन् । उनका पार्टीका केन्द्रीय सदस्यहरु धमाधम डा. सिके राउतको पार्टीमा परिवारवाद र सामन्तीपन हाबी भयो भन्दै राजीनामा दिइरहेका छन् । पत्नीसँग मिल्न नसक्नेहरुले देश मिलाउने कुरा गरेको अलि नसुहाउने नै हो । यता पत्नीसँग अत्यधिक मिलेको फोटो हाल्ने रवि लामिछानेले कम्युनिष्ट, कांग्रेस, राजावादी सबैलाई ठेगान लगाउने भन्दै स्वतन्त्र पार्टी खोले । उनले चैँ फेरि आफ्नै दाजु हरिशरण लामिछानेलाई पनि मिलाउन सकेनन् । सिके राउतले दाइलाई मिलाए, श्रीमती मिलाउन सकेनन्, रविको ठ्याक्कै उल्टो देखियो । अनि हामी चैँ यिनैले देश बनाउँछन् भनेर फेरि पहाड र मधेशमा नयाँ र जान्नेलाई छान्ने भन्दै ऋण गरेर हिँड्न थाल्यौँ । यिनले पनि सकेनन् भनेर अहिले दुर्गा प्रसाईंको पछि लागिरहेका छौँ । पछि लाग्न पर्ने बालेन साहको हो, प्रभु साहको हो, नेत्रविक्रम चन्द (ठकुरी)कै हो । तर पछि लागिरहेका छौँ युवराज सफलको, पुण्य गौतमको, तारा बरालको, शान्ति बरालको, सुरेन्द्र केसीको । दुर्गा प्रसाईंको । अनि हुन्छ त विकास ?
सत्तामा राप्रपाका राजेन्द्र लिङदेन र रास्वपाका रवि पनि हेर्यौँ । जनमोर्चाका चित्रबहादुर केसी र एमालेका उम्मेदवार कमल थापा र सांसद एकनाथ ढकाल पनि हेर्यौँ । काठमाडौका बालेन र धरानका हर्क साम्पाङ पनि हेर्यौँ । पछिल्लो निष्कर्ष के मा पुगेको छु भने अब व्यवस्था होइन व्यक्तिहरु फेर्न जरुरी छ । एउटा बूढानेताको पछि लाग्दालाग्दै हामी पनि जेष्ट नागरिक भत्ता खाने अवस्थामा पुगिसक्यौँ । गगन थापालाई युवा नेता भनिरहेका छौँ । योगेश भट्टराईलाई युवानेता मानिरहेका छौँ । २१ वर्ष अघि अध्यक्ष (पार्टी प्रमुख, सायद सचिव होलान्) भएका एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीलाई फेरि अध्यक्ष मानिरहेका छौँ । अब उनीहरु होइन, हामी खराब भयौँ, आउनुहोस्, हामी सबै खराबहरु मिलेर एकपटक त्रिशुली नुहाऔँ र अब पार्टी, व्यक्ति भन्दा देश हेरेर निर्णय गर्ने ठाउँमा जाउँ । कसको मनमा राजतन्त्र छ, कसको ढुकढुकीमा राजा छन्, हेरिसक्यौँ । कसैलाई यो देशमा राजतन्त्र चाहिएको छैन । वश राजतन्त्रका नाममा सत्ता, कुर्सी र सुविधा चाहिएको छ । यो बुझेका दिन हामी धेरै बुझ्छौँ । २०८४ मा १ सय ६५ मध्ये कम्तीमा १ सय ३१ जना सांसद नयाँ अनुहार हुनेछन् । त्यसैले आजै मेरो यति ठूलो पार्टी, यति धेरै भोट भनेर उफ्रिँदै नहिँडौँ, अदालतले कुनै पनि बेला ‘डार्कफाइल’मा आक्रमण गर्न सक्छ, जनताले चुनावमा नयाँ र नानीमायाहरु खोजिरहेका छन् । परीक्षणमा राजनीति, परीक्षणमा जनता, अदालतले ‘राष्ट्रिय तत्व’ करार गरिदिएन भने पत्रकारिता, राजनीति, समाजसेवा सबै ‘डार्कफाइल’को सिकार हुनेमा शंका छैन । सबका फाइल तयार छन्, वश तपाईंको पालो कहिले पर्छ भन्ने मात्र हो ।
००००