Sun. Mar 9th, 2025

दशैं अगाडि बीपी राजमार्ग खुल्दैन: मन्त्रालय

काठमाडौं – भौतिक पूर्वाधार मन्त्रालयले बाढी पहिरोले क्षतिग्रस्त बनाएको वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जनाएको छ । बीपी राजमार्गको स्थलगत अवलोकनपछि मन्त्रालय यस्तो निष्कर्षमा पुगेको हो ।

मन्त्रालय र सडक विभागको टोलीले नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गरेको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले बीपी राजमार्ग दशैं अगाडि खुल्ने अवस्था नभएको बताएको हो । ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं’ सचिव केशवकुमार शर्माले भने ।

मन्त्रालयका अनुसार वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । उक्त खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था छैन ।

नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुने मन्त्रालयले जनाएको छ । सचिव शर्माले अस्थायीरुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने छ । तर, तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि सकिने छ । ‘अस्थायी रुपमा यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन’ उनले भने ।

सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको थियो । तर त्यो साह्रै घुमाउने हुने उनले बताए ।

मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनको भनाइ छ । पूर्व जाने गाडीहरुका लागि कान्तिराजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए ।

About The Author

अन्य समाचारहरु: