Thu. Jan 30th, 2025

यात्रुसंग बढी भाडा असुल्ने सवारीलाई पृथ्वी राजमार्गमा ठाउँको ठाउँ जरिवाना

धादिङ– अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा यात्रुसंग बढी भाडा असुल्ने सवारीहरु ठाउँको ठाउँ जरिवानामा परेका छन् । बुधबार सांझ गरिएको छड्के चेकजाँच तथा अनुगमनमा धादिङ काठमाडौ गर्ने बस र चितवन काठमाडौ चल्ने माइक्रोबस जरिवानामा परेको हो ।

भाडादर नटासी मनोमानी ढंगबाट यात्रुसंग तोकिएको भन्दा बढी भाडा लिने र भाडादर नटाँस्ने ग्रामिण यातायात धादिङ प्रा।लि। अन्तर्गत संचालित बा ५ ‘ख’ ५७ नम्बरको बस १० हजार जरिवानामा परेको छ । त्यस्तै काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लामा ट्राभल्सको ग १ ‘ख’ ५५९२ नम्बरको माइक्रोले यात्रुसँग बढी भाडा लिएको भेटिएपछि २० हजार जरिवाना तिराएको छ । पाँच सय ५० तोकिएको भाडामा उक्त प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको गुनासो आएपछि जिल्ला अनुगमन समितिले बेनिघाट बजारमा रोकेर सबै यात्रुहरूको भाडा फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

धादिङबाट काठमाडौ जाने र काठमाडौबाट धादिङको विभिन्न स्थानहरुमा पुग्ने यात्रु बसहरुले यात्रुसंग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा असुलेको गुनासो आएपछि गरिएको चेकजाँच तथा अनुगमनमा फेला परेको सवारीलाई सडकमै जरिवाना गराइएको उनले बताए

पृथ्वी राजमार्ग हुँदै काठमाडौ प्रवेश गर्दा र काठमाडौबाट बाहिदा नौबिसे नागढुंगा सडकमा पहिरोको जोखिम रहेको र वैकल्पिक सडक प्रयोग गर्नु परेको भन्दै धादिङ काठमाडौ चल्ने माइक्रोबसहरुले नौं सय सम्म भाडा असुलेको पाइएको छ । दसैँ, तिहार लगायतको पर्वका लागि आवत जावत गर्ने यात्रुहरूसँग बढी भाडा असुल्ने गतिविधि नियन्त्रण गर्न पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको विभिन्न ठाउँमा छड्के चेकपोष्ट राख्ने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे बताएका छन् ।

सामान्यतया तीन सय २० रुपैयाँ भाडादर रहेको बाटोमा सात सय र नौं सयसम्म भाडा असुलेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । काउन्टरबाट तोकिएको भाडामा टिकट काटिएपनि बिचबाटोमा पुगेर यात्रुसंग भाडा थप गरेर लिने गरेको व्यापक गुनासो यात्रुहरुले गरिरहेका छन् ।

पत्रकार र नागरिक अगुवाहरु नै यसको सिकार बनेपछि जिल्लामा तरंग नै मच्चिएपछि ट्राफिक प्रहरी र सुरक्षा निकायका सरोकारवालाहरुले बढी भाडा असुल्ने सवारीको छड्के चेकजाँचलाई तीव्र पारेको छ ।

About The Author

अन्य समाचारहरु: