Fri. Jan 31st, 2025

विपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

धादिङ-साना तथा मझौला सवारीले देशका पूर्वी जिल्लाहरु आउजाउ गर्ने विपी राजमार्ग बाढीले बगाएर ठप्प बनेपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । त्रिभुवन राजपथको नौबिसे नागढुंगा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो ।

विपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोषी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षतविक्षत छ । चौकीडाँडा भन्ने ठाउँमा करिब एक सय ५० मिटर सडक पुरै खोलाले कटान गरेको छ । विपी राजमार्ग प्रयोग गरेर कोषी प्रदेशको सबै जिल्ला, मधेश प्रदेशको अधिकांश जिल्ला जाने सावारीले अहिले पृथ्वी राजमार्ग प्रयोग गरिरहेका छन् ।

झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छदैछ त्यसमाथी विपी राजमार्गमा चल्ने सवारी पनि थपिदा पृथ्वी राजमार्ग झन व्यस्त बनेकोले संभावित दूर्घटना हुन नदिन ६० जना प्रहरी थप गरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको विपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोसी खोलाले सडकको नामनिसाना नरनेगरी बगाएपछि पूर्वका जिल्लाहरु आउजाउ गर्ने सवारीले नागढुंगा मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन् । सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आउजाउ गर्ने सवारीले काठमाडौको नागढुंगा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौडा हुँदै महोत्तरीको बर्दिबास पुगेर आ–आफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् ।

विपी राजमार्ग संचालनमा हुँदा काठमाडौंबाट पाँच घण्टामा बर्दिबास पुगिने भएपनि नागढुंगा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौबाट बर्दिबास पुग्न पूर्व जाने सवारीहरुलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरि बहादुर राइले बताए । ‘टाइम कार्ड लागु गराएकै भएपनि बनेपा बर्दिबासको बाटो जान पाउँदा बर्दिबास पुग्न पाँच घण्टा जति लाग्थ्यो । नागढुंगाबाट मुग्लिन निस्किएर बर्दिबास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ’, चालक राई भन्नुभयो–‘पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पु¥याउनुपर्ने बाध्यता छ ।’

चार दिनसम्म परेको निरन्तरको वर्षातले छियाछिया बनेर जोखिमपूर्ण बेनेको सडकमा सवारीको चाप बढेसँगै दूर्घटनाको जोखिम पनि अझ बढेको छ । लामो र छोटा दुरीका सवारी साधनले राजमार्ग भरिभराउ भएका छन् । सामान्यतया दैनिक १३ हजार सवारी आवत जावत हुने पृथ्वी राजमार्गमा दशैंको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै विपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्याधिक भएको हो ।

सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानहरुमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ । सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँ ठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सम्यंमतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकहरुलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानहरुलाई सवारी गुड्न सक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर संभावित दूर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए। ‘राजमार्गका केही स्थानहरुमा अहिले पनि सवारी एकतर्फी छ । त्यस्ता स्थानहरुमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ’, शाहीले भने।

ठाउँ ठाउँको पहिरोका कारण राजमाग एकतर्फी छ । त्यसमाथी चालकहरुले लेन अनुशासन पालना नगर्दा झन धेरै जाम भैरहेको छ । पछिल्लो दिनको अवस्था हेर्दा ट्राफिक प्रहरीले मात्रै दशैको सवारी आवागमन सुचारु गराउन सक्ने अबस्था नरहेको भन्दै नागरिक अगुवाहरुले थुप्रै सुझावहरु पनि दिइरहेका छन् ।

शशस्त्र प्रहरी र सेनालाई समेत जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उनीहरुको सुझाव छ । चालकको लापर्वाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकोले राजमार्गको हरेक एक किलोमिटरमा कम्तिमा एक जना प्रहरी खटाएर चालकहरुलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक संजालमा मार्फत सुझाव दिएका छन् ।

खतिवडाले स्टाटरमा लेखेका छन् छ–‘चारपांग्रे गाडी धार्के–सितापाईला सडकबाट पठाउ, साना गाडीहरू गल्छी–छरछरे– टोखा सडकबाट पनि पठाउन सकिन्छ । ठूला र हेभी गाडिहरुलाई नौबिसे– नागढुंगा सडक निर्बाध प्रयोग गर्न सक्ने स्थिति बनाउ । एम्बुलेन्स र सुरक्षा फौजका लगायतका गाडीहरू सुरुङ मार्ग हुँदै आवतजावत गर्ने ब्यवस्था मिलाउ । साना तथा फोरह्विलर गाडिहरुलाई त्रिशुली पारी गल्छी–घाटबेसी परेवारटार सडक प्रयोग गर्न प्रेरित गर । पहिरोले दुख दिइरहेको ठाउँहरूमा स्काईभेटर, लोडर तयारी अबस्थामा राख ।’

‘ट्राफिक प्रहरी एकान्त र अप्ठ्यारो ठाउँमा गाडीहरू रोकेर पैसा असुल्न मात्र राजमार्गमा छाडिएको हो भन्ने बुझाइ यात्रुको छ, यो अवस्था तुरुन्त सुधार गरेर राजमार्ग क्षेत्रका स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरुको भरपुर उपयोग गरी आम नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने कुराको प्रत्याभुति दिलाउन सकिने खतिवडाले प्रष्ट पार्नुभएको छ ।

About The Author

अन्य समाचारहरु: