धनराज वास्तविक
भनिन्छ, ‘प्राकृतिक विपद बाजा बजाएर आउँदैन ।’ तर, हाम्रो देशमा पछिल्लो समय आइलागेका प्राकृतिक विपत्तिहरू बाजा बजाएर नै आइरहेका हुन् किन भन्ने आभास हुन्छ । राज्यका सम्बन्धित संयन्त्रहरूले एक दुई दिन अघि नै वर्षातको उच्च, न्यून र मध्ययम अवस्थाका बारेमा सूचना र जानकारी दिएको थियो । त्यति मात्रै होइन, मोबाईलमा फोन गर्दासमेत जानकारी दिनेकाम भएको थियो । रात्रीकालिन सेवाका सवारीहरू सञ्चालनमा रोकसमेत लगाएको थियो । तर, असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो जनधनको क्षेती भएको छ । देशभरको जनजीवन अस्तव्यस्त छ । दशैं, तिहार र छठ जस्ता पर्वहरूको पूर्वसन्ध्यामा संघीय राजधानी काठमाडौँसँग धेरै जिल्लाहरूबीचको सम्बन्ध विच्छेद बनेको अवस्था छ । सयौंको ज्यान गइसकेको छ भने उत्तिकैको संख्यामा मानिसहरू वेपत्ता छन् । यसो किन भयो ? जवाफ छ । यसो हुनुका पछाडिका कारण के हुन् ? अनेकौं कारण छन् । प्राकृतिक विपदका कारण र परिणामका बारेमा मन्थन गर्न आवश्यक छ । आम मानिसले प्राकृतिक जोखिमबाट बच्ने कसरी ? आफू बाँच्ने र अरूलाई बचाउने कसरी ? भन्ने बारेमा थाहा पाउन पर्छ ।
डोजरे विकास
प्राकृतिक विपद जति शक्तिशाली दुनियाँमा अर्को कुनै तागत छैन । जसको सामु विश्वका कुनै पनि शक्तिशाली प्रविधि फेल हुन्छ । असफल हुन्छ । खासगरी जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम सिर्जना हुन्छ । जलवायू परिवर्तनका कारण बाढी, पहिरो, डुवान, महामारी र सुख्खापन जस्ता पाकृतिक विपत्ति निम्तिएर समुदायको जनजीवन, भौतिक संरचना र कृषि उत्पादनमा प्रतिकुल असर परिरहेको छ । बैशाखपछि भदौसम्म चाहिएको समयमा पानी नपर्ने र असोजमा बाढी आउने वर्षा भइरहेको छ । २०७१ सालमा कर्णालीका विभिन्न स्थापनमा पनि यस्तै विपत्ति आइलागेको थियो ।
मुलुक संघीय संरचनामा प्रवेश गरेपछि विकासको नाममा गाउँगाउँमा सडक पुर्याउने अश्वस्थ पतिष्पर्धा चलिरहेको छ । बिना चेकजाँज, बिना डिपीआर बाटो खोल्ने काम भइरहेका छन् । जसलाई डोजरे विकास भन्ने गरेको पाइन्छ । पहाडमा डोजरे विकासका कारण बाढी पहिरोको उच्च खतरा छ । पहाडमा पहिरोका कारा वर्षेनी सयौंको जीवन लिला समाप्त हुन्छ । पहाडमा आएको बाढी, पहिरोले तराई जलमग्न हुन्छ । पहाडमा बाढी पहिरो, तराईमा डुवान नेपाली समाजका वर्षेनी बाजा बजाएर आउने प्राकृतिक विपत्ति हुन् ।
पहाडी जिल्लामा सडकमा नाममा कोरिएको सडकका नाममा कोरिएका मृत्यु मार्गका रेखाहरू प्राविधिक रूपमा योग्य छैनन् । यसअर्थ पहाडी रोडहरू मृत्युमार्गका रेखाहरू हुन् । कतिबेला ज्यान जान्छ पत्तो हुँदैन । कतिबेला पहिरो खसेर गाउँ बगाउछ ठेगान छैन । यस्तो विध्न दुःख र विरक्त वैराग निम्त्याउने नेपाली राजनीतिक प्राणाली हो । राजनीतिक पावर र भनसुनका आधारमा यस्तो मृत्यु मार्गहरूको आकार कोरिएका छन् । आजका दिनमा पनि जथाभावि रोड खन्ने काम भइरहेकै छ । जो प्राकृतिक स्रोतमाथिको अतिरिक्त हस्तक्षेप हो । जसको यथासख्य अन्त्य आजको आवश्यकता हो र हुनुपर्छ ।
सार्वजनिक हुन् वा नीजि ? हाम्रा संरचना नै वैज्ञानिक छैनन् । जहाँ पायो त्यहि संरचना बनाउने काम भइरहेको छ । अर्बौ रकम खर्चेर बनाएका संरचनाहरू बढीले बगाउछ । अनि मात्रै हाम्रो होस् खुल्छ । विवाह पछिको सिन्दुर पोतेको के काम ? बाघ गयो, बुद्धी आयो भनेझैँ हामी समयमा ध्यान पुर्याउँदैनौं । जब विपत्ति आइलाग्छ, त्यो बेला होस् खुल्छ । सबै विनास भइसकेपछि होस् खुल्नुको के अर्थ ? डोजरे विकासलाई जति चाँडो रोक्न सक्छौं । त्यति नै गाउँ सुरक्षित हुन्छ । गाउँमा बाढी पहिरो नगए तराईं डुवान पर्दैन । यसरी चक्रिय रूपमा नै प्रकृति र मानव जातीबीच सम्बन्ध चलिरहेको हुन्छ भन्ने कुरा भुल्नु हुँदैन ।
इन्जीनिय, ठेकदार, शासक, सार्वजनिक संस्थानको मिलिभगतमा रोड, पुलपुलेसा, भवन जस्ता दीर्घकालिन अर्थ र महत्व राख्ने संरचनाहरू बनाईछन् । जो एउटा बर्खामासलाई टिक्दैनन् । एक मौसमको सिकार बन्छन् । जनताको करबाट उठेको राज्यको अर्बौको लगानी एकैचोटी बगर, खरानी बन्छ र बाढीले बगाएर लैजान्छ ।
अतिरिक्त हस्तक्षेप
पछिल्लो समय संघीय राजधानी काठमाडौैँमा उपत्यका नदी किनार बस्ती पीडितहरूको आन्दोलन चलिरहेको छ । यस आन्दोलनका बारेमा नजिक रहेर बुझ्ने अवसर पाइएको छ । यसका आधारमा केही भन्न मिल्ने कुराहरू छन् । जुन कुरा संघीय राजधानीको मात्र नभएर देशभरकै साझा विषय छ ।
हालै सर्वोच्च अदालतले उपत्यका नदी किनारमा २० मिटर र थप २० मिटरको प्रसँग अघि सारेपछि खोला किनारामा जग्गा किनेर संरचना निर्माण नगरेका मान्छेहरू आन्दोलित छन् । यस्तै समस्या देशका प्रायः भागमा देखिन्छ । गुठीको होस् र सरकारी जमिन होस् । स्थानीयहरूले आफ्नो उपभोग्य र नीजि जग्गाका रूपमा उपभोग गर्दै आएको देखिन्छ । गाउँघरतिर पहिले पहिले गौचरनका रूपमा रहेका फराकिला चौरहरू अचेल खेतबारीमा परिणत भइसकेका छन् । फराकिला बाटोहरू फर्किन नमिल्ने गरी मिचिएका छन् । जसको समाधान संघीय ऐन बनाएर स्थानीय वडा तहले गर्न सक्नुपर्छ ।
खोला बस्तीमा पसेको हो कि ? बस्तीमा खोला ? भन्ने सवाल आज छलफलको मुल प्रश्न बनिरहेको छ । यी दुबै दाबीका पछाडी उभिने मानिसहरूका आ—आफ्नो दलिल छन् । मुख्यतः कुन दलिल मुख्य हो, वैज्ञानिक र व्यवहारिक हो भन्ने कुरालाई हामीले आधिकारिक मान्नुपर्ने हुन्छ । मुलतः बस्तीमा खोला नभएर खोलामा बस्ती पसेको हो । हामीले प्राकृतिलाई ढाट्नु हुँदैन । प्राकृतिक सम्पत्तिमाथि अतिरिक्त हस्तक्षेप गरिनु हुँदैन ।
राम्रो रूख देख्यो कि काटिहाल्ने, हिउँदमा आगजनी गरिहाल्ने । खोला देख्नै नहुने । जसरी हुन्छ, मिलाएर आफ्नो नाममा बनाएर बेचिहाल्ने । सडक खन्दा प्राविधिकलाई कुखुरा र रक्सी खुवाएर नक्सा पास गराउने । भनसुनका आधारमा सार्वजनिक संचरनाको ठेक्का पट्टा हात पार्ने । ठेक्का हातपारेपछि वर्षौसम्म जमिन बिथोलेर राख्ने । लगायतका कामहरू मानवले जहिलेसम्म गर्छ । त्यहिबेलासम्म वर्तमान मुलुकले भोगिरहेको प्राकृतिक विपत्ति भोगिरहनुपर्छ ।
अर्को कुरा तराईको प्रसंगलाई हेर्ने हो भने भारतीय सीमातिर बनाईएका विभिन्न बाँधका कारण डुवानका समस्या हुने गरेको देखिन्छ । भारतसँग नेपाल सरकारले वार्ता गरेर समस्या समाधान गर्ने त भन्छ, तर, काम गर्दैन । वर्षेनी तराईका मानिसहरूले गुहारको आवाज बोल्नुपर्ने बाध्यता छ । टनकपुर, कोशी, महाकाली जस्ता ब्यारेजहरूका कारण सम्बन्धित क्षेत्रमा प्राकृतिक विपत्ति आइलाग्ने गर्छ । जसको दिगो समाधानका निम्ति सरकारले उचित र आवश्यक कदम चाल्नुपर्छ । गफले राष्ट्रवादी भएर हुँदैन । व्यवहारमा आफ्नो मुलुकको हितमा उभिनुसक्नु पर्छ । यदी ऐतिहासिक तथ्य, तथ्याङ्का आधारमा र व्यवहारिक रूपमा आफ्नो मुलुकको हितमा कामगर्ने हो भने त्योभन्दा राष्ट्रवादी नेता अर्को कोही हुँदैन । बिडम्बना, यस्तो हितप्रिय काम गर्ने नेता अहिलेसम्म कोही देखिएको छैन ।
विगतबाट पाठ नसिक्ने
हामी नेपालीहरूको बानी अत्यन्तै खराब छ । हामी हत्तपत्त टेर्दैनौं । बुझेर पनि नबुजेझैँ गर्छौं । माथि पनि भनियो कि, ‘बाघ गयो, बुद्धि आयो ।’ बाघले बाख्रा लगेर जंगल गइसकेपछि फिरेको बुद्धिको के काम ? वर्षेनी विगतबाट पाठ सिक्नुपर्ने भनेर राज्यका विभिन्न निकायमा बसह हुन्छ । तर, प्रत्येक वर्षमा हुने घटनाभन्दा बढी नै क्षेती भइरहेको हुन्छ । यकातिर पाठ सिक्ने भन्ने अर्को तिर ठूलो दुःख व्यहोरिरहने । तर, विगतका घटनाहरूबाट पाठ केही नसिक्ने । सचेत पनि नुहने ।
राज्य र जनताको तर्फबाट भइरहेको प्राकृतिक स्रोतमाथिको नाङ्गो हस्तक्षेप नै हाम्रो पतन, बिनास र दुःखको कारण हो । हामीले विगतमा गएको न त भूकम्पबाट सिक्यौं । न त बर्षेनी जाने बाढी पहिरो र डुवानबाट सिक्छौं । खाली गफमा सिक्यौं । गफमै भूल्यौं । परिणामतः वर्तमानमा देशले ठूलो भौतिक तथा मानवीय क्षेती व्यहोर्नु पर्यो । मानवीय दुःखलाई अमूल्य मानेर भन्ने हो भने मुलुकले भौतिक संरचनामा यत्तिको बलियो बन्न एक दशक समय कुर्नुपर्ने देखिन्छ ।
नियत कि नियती ?
दुर्घटना आफैमा नियती नै हो । दुर्घटना कल्पनाभन्दा बाहिरको कुरा हो । विपत्ति कतिबेला आउछ थाहा हुन्न । दुर्घटना सोचेभन्दा बाहिरको कुरा नै हो । साँझ सुतेका मानिसहरू बिहान उठ्दा लास बनेका छन् । घरहरू खण्डहर बनेको देखिन्छ । हेर्दाहेर्दै मानिसहरूलाई बाढीले बगाएर विलाप बनाईदिन्छ ।
खैर, नढाटेर भन्दा नियतीलाई निम्त्याउने भनेको हाम्रा नियत जिम्मेवार छन् । हाम्रा नालायकी जिम्मेवार छन् । हामीलाई खोलामै घर बनाउनुर्छ । खाली जग्गा भेट्यो कि जसरी हुन्छ हडप्नु पर्छ । आफ्नो नाममा दर्ता गरिहाल्नुपर्छ । खाली जमिन देख्यो कि नजर गडिहाल्छ । सेटिङ मिलाएरै भएपनि सार्वजनिक, खोला, नदि किनाराको जग्गा निजीत्वमा पारिहाल्न मन लाग्छ । प्रकृतिलाई अनावश्यक छेडाछाड गरिहाल्ने हाम्रो बानीहरू छन् । हिउँदमा खर र जंगल देख्नै हुन्न । आगो झोसी हाल्नुपर्छ । यस्ता हाम्रा खराब बानी छन् । गलत आचरणहरू छन् । जसको अन्त्य आजको आवश्यकता हो । मुलुकले व्यहोरिरहेका ७० प्रतिशतभन्दा धेरै विपदहरू मानिस स्वयं आफैले निम्त्याएका घटनाहरू हुन्भन्दा फरक पर्दैन । घर कहाँ बनाउने, बाटो कहाँ खन्ने, डोजर कहाँ चलाउने, बन जंगलको सुरक्षा कसरी गर्ने, किन गर्ने जस्ता सवालबारे मानिसहरू स्पष्ट बन्ने हो भने धेरै दुुःखबाट पार पाइन्छ भन्ने लाग्छ ।
अन्त्यमा माथि भनिएझैँ, विगतमा भोग्नु परेका भूकम्प हुन् या अन्य प्राकृतिक प्रकोप । ती विपत्तिबाट हामीले पाठ सिकेनौं । जल, जमिन र जंगल दुनियाँकै सबैभन्दा शक्तिशाली चीज हुन्भन्ने कुरा हामीले बुुझेको विषय हो । तर, नजरअन्दाज गरेर हिडिरहेका छौँ । यी तीन थोक बिना संसारको कल्पनासमेत गर्न सकिँदैन । हाम्रै पालामा २०७२ सालमा भूकम्प गयो । भूकम्पपछि त्यो बेलाका प्रभावित जिल्लामा बनेका घरहरू आज पनि वैज्ञानिक र व्यवस्थित छैनन् । जहाँ मनलाग्यो त्यहिँ निर्माण गर्ने काम गरिएको पाइन्छ । भनेको सुनिन्छ, ‘प्राृकति विपत्तिमा परेको कसैले ज्यान गुमायो भने उसको लेखान्त नै त्यस्तै थियो ।’ मानिसहरूले चित्त बुझाउने बाटो त होला । तर, मानिसले अनाहकमा ज्यान गुुमाए कि साच्चिकै विपत्तिमा परेर मरे? आखिर किन यसो हुँदैछ भनेर खोतल्ने हो भने लेखान्तभन्दा देखान्तहरू जिम्मेवार छन् । हाम्रा नालायकी दोषी छन् । प्राकृतिक स्रोतमाथि मानवीय अतिरिक्त हस्तक्षेप गरिरहेका छौँ । मनलाग्दी बन फडानी र आगजनी गरिरहेका छौं । बाटो खन्ने नाममा असारे भेलमा राज्यको सम्पत्ति बगाइरहेका छौँ । यी सबै कर्महरू बन्द नगरेसम्म मान्छेहरूले अनायास मरिरहनुपर्छ । देशले भौतिक क्षेती व्यहोरिरहनपर्छ । चेतना भया ।