Fri. Jan 31st, 2025

झ्याप्ले खोलामा आजमात्रै भेटियो २१ शव, मृतकको संख्या ३५ पुग्यो

धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट आइतबार २१ जनाको शव निकालिएको छ ।

बिहानैदेखि खटिएको उद्धार टोलीले १७ जना पुरुष र ४ जना महिलाको शव निकालेको हो । यो सहित पहिरोमा फेला परेको शवको संख्या ३५ पुगेको छ ।

शनिबार रातीसम्म १४ वटा शव फेला परेकोमा आइतबार थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । पहिरोबाट ना ४ ख २२७० नम्बरको बस, बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ । लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विंगर म्यान) शनिबार फेला परेको थियो ।

अझै अन्य सवारी पनि भेटिनसक्ने आशंकामा अहिलेपनि उद्धार कार्य जारी छ । पहिरोमा भेटिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौविसे नागढुंगा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ ।

About The Author

अन्य समाचारहरु: