
धादिङ– तिब्बतका नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बा पक्राउ परेका छन् ।
गैर कानूनी ढंगबाट नागरिकता दिलाउन सहयोग गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयको नयाँ नागरिकता शाखामा कार्यरत नायव सुब्बा कृष्णबहादुर थपलियालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
नागरिकता बनाउन सहयोग गर्ने गिरोहले थपलियालाई ५० हजार दिएको आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीले लगेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
असोज ४ गते काठमाडौंको बौद्धस्थित जुवा खालबाट पक्राउ परेका युवकलाई सोधपुछ गर्दा चार लाखमा नेपाली नागरिकता किनेको र आफ्नो घर तिब्बतको आन्दो भएको बताएपछि नागरिकताको किर्ते सम्बन्धी विषय बाहिर आएको हो ।
किर्ते नागरिकता दिलाउन सहयोग गरेको आरोपमा धादिङ खनीयाँवास गाउँपालिका मदनबहादुर तामाङ, रामेश्वर रिमाल, सिन्धुपाल्चोक घर भएका छिरिङ वाङ्दिन शेर्पा र भारत घर भएका छिरिङ ढुन्डुप यसअघि नै पक्राउ परिसकेका छन् । नायव सुब्बा थपलिया बाहेक सबैलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङबाट २०८१ असार ६ गते सोनाम तामाङ नाममा जारी भएको २६–०१–८१–०३२१७ नम्बरको नागरिकतामा प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले दस्तखत गरेका छन् ।
तिब्बत घर भई नेपाली नागरिकता लिने सोनाम तामाङ पनि जुवा मुद्दामा प्रहरी हिरासतमा छन् । जुवा मुद्दाको अनुसन्धान सकिएपछि नागरिकता किर्तेमा छानविनका लागि धादिङ ल्याउने बताइएको छ ।
नागरिकता सक्कली भएको पुष्टि भएसँगै कर्मचारीहरुसँगकै मिलेमतोमा नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर हर्कमान तामाङलाई नक्कली बुवा खडा गरी नागरिकता बनाएको खुलेको छ ।
ती व्यक्तिलाई नागरिकता बनाउन वडा कार्यालयबाट कुनै किसिमको सिफारिस नगरिएको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताएका छन् । नागरिकता लिएका सोनाम तामाङको बाबू भनिएका हर्कबहादुर २० वर्ष अघि नै मरिसकेका व्यक्ति भएकोले किर्ते गर्ने सबैलाई कारबाहि गर्नुपर्ने बताए ।