Tue. Mar 4th, 2025

नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ :एडीबी

काठमाडौं – नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

यसअघि उसले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो । यस बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धि सहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान उसको छ ।

एडीबीले सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान उसको छ । अप्रिलको प्रक्षेपणमा भने ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान थियो ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ ।

सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान एडीबीको छ ।

वरिष्ठ अर्थशास्त्री मानवर खड्काले कर्जा प्रवाह अपेक्षित नभए पनि सुधारोन्मुख अवस्थामा रहेको बताए ।

About The Author

अन्य समाचारहरु: