
काठमाडौं – यस वर्ष हिले दशैं हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएका छ । यस वर्षको मनसुन बहिर्गमनको सम्भावना नभएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान रहेको जनाएको छ ।
दशैंसम्म मनसुन रहन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।
यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।
मौसमविदकाअनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।
मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) आउन १० दिन बाँकी छ । तर अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी पोखरेल बताउँछिन् । ‘दशैंको बेलामा मनसुन बाहिरनका लागि यतिबेलासम्म विथड्रलको संकेतहरु देखिन्छ । तर अहिलेसम्म हाम्रो सिस्टमले कतै पनि विथड्रलको संकेत देखाएको छैन,’ उनले भनिन् ।