२० भदौ, चितवन – चितवन ग्रीन लायन्स र लियो क्लवको आयोजनामा भएको दोस्रो एनपिआई एजुकेशन फेयर (शैक्षिक मेला) आइतबार सकिएको छ ।
भरतपुर गार्डेन रिसोर्टमा “समृद्ध भविष्यका लागि स्वाभिमानी युवाको रोजाई, स्वदेशी शिक्षा” भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुरु भएको शैक्षिक मेलामा दर्शकको उल्लेखीय सहभागिता रहेको क्लबले जनाएको छ । मेलामा करिब स्वदेशी कलेजका ४० वटा स्टलहरु रहेको थिए ।
मेलामा प्रवेश निःशुल्कको व्यवस्था गरिएको थियो । मेला समापन समरोहमा बोल्दै शिक्षा क्षेत्रका दिग्गज व्यक्तिहरुले यस्तो किसिमको मेलाले चितवनको शैक्षिक विकासमा टेवा पुग्ने बताएका छन् । उनीहरुले आगामि दिनमा पनि यो मेलालाई निरन्तरता दिन सुझाव दिएका थिए ।
चितवन र नवलपरासीमा कक्षा ९ देखि १२ सम्म पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी मेला संञ्चालन गरिएको थियो । मेलामा नेपालमै पहिलो पटक एउटै छानामुनी ४० भन्दा बढि स्वदेशी शैक्षिक संस्थाहरुको सहभागिता, विज्ञान तथा प्रविधि प्रदर्शनी, करियर काउन्सेलिङ, मोटिभेटर गेष्ट स्पीकर र विभिन्न मनोरञ्जनात्मक कार्यक्रहरु रहेका थिए ।
पहिलो संस्करणको अपार सफलतासंगै लायन्स क्लवले यसपटक पनि मेलालाई निरन्तरता दिएको हो । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० रमेशप्रसाद खरेलको प्रमुख आतिथ्यता एवंम् चितवन ग्रिन लायन्स क्लवका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य, जोन चियर पर्सन लायन प्रभाकर पण्डित, एनपिआई कलेजका शिवप्रसाद सुवेदी, अक्सफोर्ड कलेज म्यानेजमेण्ट एण्ड इन्जिनियरिङका प्रिन्सिपल हरि भण्डारी, कार्यक्रम संयोजक दीपक पौडेल, लियो क्लवका अध्यक्ष रोशन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच मेलाको आज अन्तिम दिन “समृद्ध भविष्यका लागि स्वाभिमानी युवाको रोजाई, स्वदेशी शिक्षा” विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा वाल्मीकि शिक्षा सदनका शितल उपाध्याय प्रथम, ग्रीनल्याण्ड पब्लिक स्कूलकी विनु तामाङ द्धितिय र प्रेसीडेन्सी कलेजका विपिन कँडेल तृतीय भए । विजेता तिनै जनाले क्रमशः नगद १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए ।