
काठमाडौं । ट्रेकिङ एजेन्सिस एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका आधिकारिक उम्मेदवार राजेन्द्रप्रसाद सापकोटा सहितलाई हराउन भूमिका खेलेकाे भन्दै पार्टी संगठनबाट कारबाही गरिएको छ ।
गत भाद्र १७ गते सम्पन्न टानको निर्वाचनमा अध्यक्षमा पार्टीबाट सर्वसम्मत उम्मेदवार बनेका सापकोटालाई नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक पर्यटन व्यवसायी संघले पनि समर्थन गरेको थियो ।
दुवै संगठनको साझा उम्मेदवार बनेका सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्वाचित भए पनि अध्यक्षमा सापकोटा पराजित भएपछि पार्टीमा खैलाबैला भएको थियो ।
ट्रेकिङ क्षेत्रमा एमाले बलियो शक्ति रहेको र त्यसमाथि दुई ठूला संगठन मिलेर चुनावमा जाँदा पनि एमालेका उम्मेदवार पराजित भएपछि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले अन्तरघात गर्नेलाई कारबाही गरेको हो ।
आफ्नो उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेका धादिङ जिल्ला कमिटी सदस्य ध्रुव अधिकारी र हरि धरेल तथा सिन्धुपाल्चोकका दामोदर ढकाललाई आगामी दुई वर्षसम्म संगठनबाट निष्कासन गरेको संगठनले जनाएको छ ।
उनीहरुले आफ्नो उम्मेदवार हराउन खेलेको भूमिकाका प्रमाणहरु भाषण, भेटघाट र सामाजिक सञ्जालमा प्रयोग गरेका तस्बिरसहितको प्रमाण नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई जानकारीको लागि संगठन विभागमा दर्ता गराउनुका साथै बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, धादिङ जिल्ला कमिटी, सिन्धुपाल्चोक जिल्ला कमिटी र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीलाई कारबाहीबारे जानकारी गराइएको उल्लेख गरिएको छ ।
संगठनका महासचिव यमबहादुर खड्काले टान निर्वाचनपश्चात गत भदौ २३ गते सम्पन्न संगठनको बृहत भेलाले खुलेर विरोधमा लाग्नेहरुलाई कारबाही गरेको र अन्य केही व्यक्तिहरु गोप्य रुपमा असहयोग गर्नेहरुले आफू आवद्ध रहेको संगठनभित्र आत्मालोचित हुनुपर्ने निर्णय गरेको जनाउँदै पार्टी निर्णयविपरीत काम गरेकाहरुबारे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने तयारी रहेको जानकारी दिएका छन् ।
