
काठमाडौ -नेपाली हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज देवादीदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन पोषणयुक्त दर खाएर बसेका नारीहरूले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।
परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको धार्मिक विश्वाससाथ अविवाहितले राम्रो पति पाउन र विवाहीताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।