काठमाण्डौ – हिजो र अस्तिको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् । एक सय ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।
विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीका १० परिवालाई वडा कार्यालयमा र अरुलाई सुरक्षित ठाउँमा सारिएको छ । दुई दिनदेखिको वर्षासँगै जिल्लाको कटैनी, शिबगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव पसेपछि बस्ती डुवानमा परेको हो ।
पानीको निकास हुन नपाउनेगरी पूर्वपश्चिम हुलाकी राजमार्गको कतिपय भागको सडक खण्ड निर्माण गरिएको कारण डुबानमा पर्ने गरिएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । उनीहरूले पानी निकास हुनेगरी हुलाकी राजमार्ग खण्डमा आवश्यक संरचना बनाउनुपर्ने माग गरेका छन् ।