Fri. Feb 28th, 2025

धादिङको नीलकण्ठ र बेनिघाट देशभरकै उत्कृष्ट

धादिङ– स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) मा नगरपालिका र गाउँपालिका दुबैतर्फ धादिङ देशकै उत्कृष्ट बनेको छ । नगरपालिकातर्फ जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पृथ्वीराजमार्ग जोडिएको बेनीघाटरोराङ गाउँपालिका सर्वाधिक अंकसहित देशकै उत्कृष्ट बनेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास गरेको स्वमूल्यांकन प्रणाली (लिजा) एउटा परीक्षा हो । विभिन्न एक सय वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमादेशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७ अंक पाएको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा भएका कामहरुलाई आधारमानीलकण्ठ नगरपालिकाले ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले जानकारी दिए । सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता, प्रवाह भइ रहेका सेवा, सूचनाको हक लगायत विभिन्न सुचकमा नगरपालिकाले उत्कृष्ट नजिता ल्याएको छ’उनले भने– ‘जनप्रतिनिधि, कर्मचारीको काम र नगरबासीको सुझाव तथा उत्प्रेरणाले नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको हो ।

यो उत्कृष्ट नतिजाले विकास निर्माण शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा थप परिस्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘भौतिक पुर्वाधार विकास निर्माण, न्याय निरुपण लगायतका क्षेत्रमा काम गर्ने सवालमा प्रदेश सरकार, संघिय सरकार लगायतका विभिन्न संघ संस्थासँग समन्वय गरी काम भइ रहेको छ । यो सम्मानले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई थप हौसलासँगै आगामी दिनमा परिस्कृत गर्न उत्प्रेरण मिलेको छ’, उनले भने ।
‘लिजामा उत्कृष्ट अंक हासिल गर्नु भनेको सम्पूर्ण रूपमा सम्पन्न र पूर्वाधारयुक्त हुनु होइन । तर सिमित साधन स्रोतमा विधिसम्मत तरिकाले उत्कृष्ट नतिजा हासिल गर्नु स्थापित हुनु हो’ नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी भन्छन्– ‘यो मुल्याङ्कन स्थानीय तहहरूले गर्नैपर्ने र गरेका महत्वपूर्ण कार्यहरूको समग्र मूल्यांकन हो । स्थानीय तहको क्षमता मापन गर्ने यो विश्वासिलो आधारमा नीलकण्ठ नगरपालिकाले पाएको उत्कृष्ट स्थानले हामी सबैको शिर उचो बनाएको छ ।’

विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताएका छन् । देशैभरको उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट हुनुले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवारी बोध गराएको अध्यक्ष थपलियाको भनाई छ ।

स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन, श्रोत साधनको उच्चतम सदुपयोग, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायतको क्षेत्रमा भएका कामले गाउँपालिका उत्कृष्ट बनेको बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले बताए। जनप्रतिनिधि र कर्मचारीको राम्रो टिम र जनताको साथले गाउँपालिकालाई यो सम्मान मिलेको उनको भनाई छ ।
कागजी रुपमा मात्रै उत्कृष्ट भनेको र आम नागरिकले भने उत्कृष्ट पालिकाको महशुस गर्न नपाएको भन्दै गुनासाहरु आउने गरेका छन् । उत्कृष्ट नगरपालिकाकै हालतको विषयमा स्थानीय नागरिकहरुले बेला बेला सामाजिक संजालहरुमा व्यङ्ग्यहरु भने लेखिरहेका छन् ।

About The Author

अन्य समाचारहरु: