काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न शनिबार विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।
टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता केसीले बताए ।उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ ।
बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले भने बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ । थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ ।
थामे गाउँमा पसेको थामेखोलाको बाढीले १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । त्यस्तै, स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् ।