Mon. Jan 27th, 2025

एनसेलको रोमिङ सेवामा ओटीपी, एसएमएस अलर्ट

काठमाण्डौ – एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरी ग्राहक पहिचान प्रणाली (केवाईसी) मा मोबाइल नम्बर चाहिने र आमनेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरूलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएको छ ।

विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको अहिलेको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेशनका रूपमा प्राप्त गर्ने गर्दछन् । यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरू सरकारी निकाय, अर्ध–सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका सङ्घ–संस्था, गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।

‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेशनको सकारात्मक सूचक हो जसले हाम्रा ग्राहकहरू सधैँ अन रहेको देखाउँछ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भन्नुभयो, ‘शुरुआतमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौँ कि ती समस्याहरू विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिसकिएका छन् । उदाहरणका लागि एनसेलका ग्राहकहरूले आन्तरिक राजस्व कार्यलय, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक सञ्जालहरूबाट ओटीपी प्राप्त गर्दै आएका छन् ।’

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेशन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता जानकारी तथा सूचनाहरू प्राप्त गर्न योग्य रहेको बताएको छ । साथै एनसेलले अन्य शर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरूप गएको वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

‘केही शर्ट–कोड सञ्चालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरूलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकूल बनाउन अनुरोध गर्दछौँ । सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूका लागि पनि पहुँचयोग्य छन्’, मोहसिनले भन्नुभयो, ‘यसबाहेक केही समस्या भए ग्राहक र शर्ट कोड सञ्चालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ताकि सम्बन्धित विषयमा कम्पनीले समस्या समाधानका लागि हेर्न सकोस् ।’

About The Author

अन्य समाचारहरु: