संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रमुखले महिला तथा अल्पसंख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरेका हुन् ।
‘महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनस्र्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ’ महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका हुन् ।
बढ्दो विरोधका बीच आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बङ्गलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ । मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।
देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बङ्गलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो ।