Wed. Jan 15th, 2025

शेख हसिनाले राजीनामा नै नदिएको खुलासा ,उनका छोरा भन्छन्– फेरि सत्तामा आउँछौँ

काठमाडौं – शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको खुलासा भएको छ । उनका छोरा सजिब वाजेदका अनुसार प्रदर्शनले उग्ररूप लिएपछि हसिनाले राजीनामा दिने योजना बनाएकी थिइन् । तर, प्रदर्शनकारीहरू निवास नै घेराउ गर्न पुगेपछि उनले राजीनामा नै दिन नपाएको उनको दाबी छ ।

मेरी आमाले औपचारिक रूपमा राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिने समय नै पाउनुभएन । उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ,वाजेदले वासिङ्टनबाट रोयटर्ससँग शनिबार भनेका छन् ।

वाजेदका अनुसार हसिनाले एक वक्तव्य दिएर राजीनामा दिने योजना बनाएकी थिइन् । तर, आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा र्‍याली गर्न थालेपछि उनले समय नै पाइनन् ।”मेरी आमाले सामान प्याक गर्ने समय पनि पाउनुभएन । संविधानअनुसार उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हो ।”

राष्ट्रपतिले सेना प्रमुख र विपक्षी दलहरूसँगको परामर्शमा गरेको संसद् विघटन र प्रधानमन्त्रीले औपचारिकरूपमा राजीनामा नदिएर कामचलाउ सरकार गठन गरेकोविरुद्ध ‘अदालतमा चुनौती दिन सकिने’ उनको दाबी छ ।

वाजेदले हसिना नेतृत्वको अवामी लिग पार्टीले आउने चुनाव लड्ने पनि बताए । उनका अनुसार चुनाव अबको तीन महिनाभित्रै सम्पन्न गरिसक्नुपर्छ ।

वाजेदले बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० की प्रमुख खालिदा जियाले कुनै प्रकारको बदला नलिने भनी दिएको अभिव्यक्तिबाट आफू खुसी भएको पनि बताए ।

बंगलादेशको हिंसात्मक प्रदर्शनपछि गएको सोमबार हसिनाले देश छाडेकी थिइन् । उनले हाल भारतको नयाँ दिल्लीमा आश्रय लिइरहेकी छन् । प्रदर्शनका क्रममा ३०० भन्दा धेरैको ज्यान गएको थियो ।

About The Author