Tue. Mar 11th, 2025

इजरायल जानका लागि पेश भएका प्रमाणपत्रको छानबिन हुने

काठमाडौं -इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन दिंदा केयर तालिमका भन्दै नक्कली प्रमणपत्र पेश भएको खुलासा भएपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले छनोट प्रक्रियामा पेश भएका कागजातहरुको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

‘इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियामा पेश गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको समाचारप्रति यस मन्त्रालयको गम्भीर ध्यनाकर्षण भएको छ ,’ मन्त्रालयका प्रवक्ता गोबिन्दप्रसाद रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाल र इजरायलबीच भएको द्विपक्षीय जीटूजी सम्झौतालाई कार्यान्वयन मन्त्रालय सदैव तयार रहेको साथै जीटूजी प्रक्रियाबाट हुने छनौट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ ।’

इजरायलको रोजगारीमा आवेदन दिन नर्सिङ, सीएमए र अनमिको कोर्स पूरा नगरेकाहरुलाई ३ महिनाको केयर गिभर तालिम अनिवार्य गरिएको छ । तर, काठमाडौंमा विभिन्न तालिम केन्द्रले तालिम नै नदिई वा छोटो समय तालिम दिएर ३ महिने तालिम दिएको प्रमाणपत्र बिक्री हुने गरेको खुलेको छ ।

विभागले इजरायलका लागि परेका ५०० भन्दा बढी आवेदन रद्ध गरेको छ । त्यसमा धेरैजसो सीटीईभीटीबाट मान्यता नपाएका संस्थाहरुको तालिम प्रमाणपत्र पेश गर्नेहरु छन् ।

विभागले यस्तो सूचना दिएपछि मात्रै नक्कली प्रमाणपत्रको पोल खुलेको थियो । तालिम नै नलिई सर्टिफिकेट किनेकाहरुले पीडित भएको भन्दै पैसा फिर्ता माग्न त्यस्ता तालिम केन्द्रमा पुगिरहेका छन् ।

नयाँ बानेश्वरमा रहेको सिटी एज्ड केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरले प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर केयरगिभर तालिम पूरा गरेको सर्टिफिकेट बेचेको थियो । सिटी एज्ड केयरका सीईओ तथा फाउन्डर सुवास खड्काले केयर गिभरको तोकिएको अवधि ९३९( घण्टा) को तालिम नदिए पनि प्रमाणपत्र बेचेको स्वीकार्दै अरु तालिम प्रदायकले पनि तालिम नदिई प्रमाणपत्र बेच्ने गरेको अनलाइनखबरसँग बताएका थिए ।

About The Author

अन्य समाचारहरु: