Wed. Mar 12th, 2025

त्रिभुवन विश्वविद्यालयमा सुधार, इतिहासमै यति छिटो ‘रिजल्ट’

काठमाडौँ -सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय (त्रिवि)ले यसपटक इतिहासमै पहिलो पटक सबैभन्दा छिटो नतिजा प्रकाशन गरेको सबैलाई आश्चर्य चकित बनाएको छ । त्रिविले यही साउन ९ गते सकिएको मानविकी शंकायतर्फको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल साउन १३ गते चार दिनभित्रै सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार त्रिविले अंग्रेजी, नेपाली, इतिहास, ग्रामिण विकास, समाजशास्त्र र अर्थशास्त्र लगायतका विषयको नतिजा सार्वजनिक गरेको हो । परीक्षा साउन २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको थियो । चाँडो नतिजा सार्वजनिक गर्न त्रिविका कर्मचारीले १२ घण्टासम्म काम गरेका परीक्षा नियन्त्रक कार्यालयको भनाइ छ । यसबाहेक स्नातकोत्तर तह प्रथम वर्षकै राजनीतिशास्त्रकाको नतिजा पनि त्रिविले छोटो समयमै प्रकाशन गरेको छ ।

राजनीतिशास्त्रको परीक्षा पनि साउन २ देखि ९ गतेसम्म नै भएको थियो । जसको नतिजा त्रिविले साउन १९ गते प्रकाशन गरेको थियो । त्रिविले एमबिएस प्रथम वर्षको नतिजा पनि छोटो समयमै प्रकाशन गरेको छ । साउन २ देखि ९ गतेसम्म भएको एमबिएसको नतिजा मंगलवार अर्थात साउन २३ गते प्रकाशित भएको हो ।

नतिजा सोचेभन्दा चाँडो प्रकाशन हुँदा अभिभावकदेखि विद्यार्थीसम्म चकित परेका छन् । भदौपछि सबै परीक्षा र नतिजा सिस्टम अनुसार नै हुने परीक्षा नियन्त्रक कार्यालय बल्खुले जनाएको छ । यसबाहेक २०८१ यता भएका सबै विषयको परीक्षाको नतिजा सय दिनभित्रै सार्वजनिक गर्ने त्रिविले तयारी गरेको छ । त्यस्तै त्रिविले गत वर्षका बाँकी परीक्षा र एमबिए प्रथम वर्ष, एमएड प्रथम वर्ष र एकवर्षे बिएडको नतिजा पनि एक साताभित्रै प्रकाशनको तयारी गरेको छ ।

त्रिविले नतिजा चाडो प्रकाशन गर्न कर्मचारीलाई १२ घण्टे ड्युटी तोकेको छ । त्रिविका १ सय १९ जना कर्मचारीले बिहान ६ बजेदेखि बेलुका ६ सम्म नतिजा प्रकाशनका सम्बन्धमा काम गरिरहेका छने । १२ घण्टे ड्युटी तोकिएका कर्मचारीलाई त्रिविले ६० प्रतिशत भत्ताको समेत व्यवस्था गरेको छ । जनशक्ति कम भएका कारण समयमै नतिजा ल्याउन नसकेको बताउँदै आएको त्रिविले यसरी नै सुधार गर्दै गए विद्यार्थीमाझ गिरेको आफ्नो साखलाई पुनः स्थापित गर्न सक्ने थियो ।

About The Author

अन्य समाचारहरु: