काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् । उनले अब सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह पनि गरेका छन् ।
बुधवार सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमा समेत चित्रण गरे । उनले लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको विषय अहिले टुंगिनु खुशीको कुरा भएको बताए । उनले पीडितमैत्री बनाउँदै निस्कर्षमा पुर्याइनु अर्को राम्रो पक्ष भएको पनि बताए ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अहिले कार्यादलले एउटा समदारीका साथ प्रतिवेदन बुझाएको छ, प्रचण्डले भने, म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनत र स्पिरिटका साथ कार्यदलले मान्य गृहमन्त्री रमेश लेखकले भनेको जस्तो अरुको पनि सहयोग लिएर धेरै छलफल गरेर पीडितमैत्री बनाउँदै निस्कर्षमा पु¥याइएको छ । यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो । नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु ।’